काठमाडौँ। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइँने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।
कंसको बढ्दो अत्याचार र पापको भारबाट पृथ्वीलाई मुक्ति दिलाउन वासुदेव र देवकीको आठौं गर्भको रूपमा कंशको कारागारमा भगवान श्रीकृष्णको जन्म भएको थियो। मथुराका राजा उग्रसेनका पुत्र कंश देवकीका दाजु र श्रीकृष्णका मामा थिए।
कुरूक्षेत्रमा भएको कौरव र पाण्डवबीचको महाभारत लडाईँमा धर्मको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथी रही श्रीकृष्णले युद्धमा साथ दिएका थिए। युद्धको क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो।
युगावतार भगवान श्रीकृष्णको युगसँगै द्वापर युगको अन्त्य र कलियुगको प्रारम्भ भएको धर्मशास्त्रमा उल्लेख छ। उनले बाल्यकालमै पुतना, बकासुर, प्रलम्बासुर आदि ठूलाठूला वीर असुरहरूको वध गरेको उल्लेख छ। इन्द्रको घमण्ड चूर गर्न श्रीकृष्णले आफ्नो कान्छी औंलाले ७ दिनसम्म गोवर्द्धन पर्वत उठाएर गोप र गाईको रक्षा गरेको चामत्कारिक क्रियाकलाप पनि शास्त्रमा उल्लेख छ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तनका साथै रातभर जाग्राम बस्ने चलन छ। आज विशेष गरी इस्कोन मन्दिरहरूमा श्रीकृष्णको भव्य रूपमा पूजाआजा हुने गर्छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar