काठमाडौँ। सरकारले आयातकार र वर्गाकार रूपमा आउने मार्बल र ग्रेनाइटको ढिक्कामा लाग्दै आएको भन्सार महशुल घटाएको छ।
मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मार्बल र ग्रेनाइटसँगै सुनचाँदी र दलहनको भन्सार महशुल पनि घटाउने निर्णय गरेको थियो।
आयातकार र वर्गाकार स्वरूपमा ढिक्का वा पाताका रूपमा आउने मार्बलको भन्सार महशुल ३० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने आयातमा लाग्दै आएको १५ प्रतिशत अन्तःशुल्क पनि हटाइएको छ।
भारत र इटालीबाट कच्चा पदार्थका रूपमा ल्याइने मार्बलका ढिक्का चारपाटा मिलेका आयातकार र बर्गाकार हुने हुँदा सरकारले तयारी मालकै सरह भन्सार र अन्तःशुल्क लिँदै आएको थियो।
यसका साथै, आयातकार वा वर्गाकारका रूपमा ल्याइने ग्रेनाइटका ढिक्का वा पाताको भन्सार पनि महशुल पनि २० बाट १० प्रतिशतमा झारिएको छ भने यसको आयातमा लाग्दै आएको २५ प्रतिशत अन्तःशुल्क पनि हटाइएको छ।
सरकारको भन्सार महशुल घटाउने निर्णयसँगै देशभित्र मार्बल र ग्रेनाइट उद्योग फस्टाउने वातावरण बनेको छ। तयारी र कच्चा मालको भन्सार महशुल र अन्तःशुल्क समान भएपछि ठूलो लगानीमा खुलेका डेढ दर्जन हाराहारी मार्बल र ग्रेनाइट उद्योग संकटमा थिए। कतिपय उद्योग बन्द अवस्थामा रहेका छन्।
अब मार्बल र ग्रेनाइटका कच्चा पदार्थ ल्याउँदा भन्सार महशुल कम लाग्ने र अन्तःशुल्क नलाग्ने भएपछि यस्ता उद्योग फस्टाउने छन्।
अहिले भारतको राजस्थानदेखि इटालीसम्मबाट मार्बल र ग्रेनाइटका ठूला ढिक्काहरू ल्याएर नेपालमा कटिङ गरी मार्बल र ग्रेनाइट बनाउने काम हुन्छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar