काठमाडौँ। पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रू ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ।
मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका हुँदै रू ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार ९ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो। देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाबाट भने पहिलो पटक निर्यात भएको छ।
यस नाकाबाट निर्यात भएका सिमेन्ट भने झापामा उत्पादन नभएको सिमेन्ट व्यवसायीले बताएका छन्। जिल्लामा रहेका ८ वटा सिमेन्ट उद्योगमध्ये तीन वटा बन्द अवस्थामा रहेका छन्। चालु रहेका पाँच वटा उद्योगसमेत धरासायी अवस्थामा रहेको नेपाल उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ।
सङ्घका अनुसार उत्पादनको ४० प्रतिशत सिमेन्ट खपत हुन नसक्दा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् यहाँ उत्पादित ५० प्रतिशत सिमेन्ट विदेश निर्यात गर्न सके मात्र उद्योग सञ्चालन गर्न सकिने छ। विना अध्ययन उद्योग खोल्न सरकारले अनुमति दियो, उद्योग थपिँदा उत्पादन बढी भयो तर विकास निर्माणका काम विगतभन्दा घटेकाले समस्या भएको छ।
बजारमा माग घटेपछि उद्योग बन्द हुने अवस्थामा पुगेको र अब यहाँ उत्पादित सिमेन्टको बजार व्यवस्थापनका लागि ठोस् पहल नभएमा सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने सङ्घले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar