काठमाडौँ। तनहुँमा आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा ७ सय ७० उद्योग थपिएका छन्। उद्योगतर्फ ३ सय ९८ र वाणिज्यतर्फ ३ सय ७२ उद्योग थपिएका हुन्।
कार्यालयले आ.व. २०७९/८० को तुलनामा आ.व. २०८०/८१ मा रू १५ लाख कम राजस्व सङ्कलन गरेको छ। आ.व. २०७९/८० मा ६६ लाख चार हजार दुई सय राजस्व सङ्कलन गरेको यो कार्यालयले आ.व. २०८०/८१ मा रू ५१ लाख चार हजार आठ सय राजस्व सङ्कलन गरेको जनाएको छ।
अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आ.व.मा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ, आ.व. २०८०/८१ मा १ हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएको कार्यालयले जनाएको छ।
त्यसैगरी २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन्। चालु आ.व.मा उद्योगतर्फ साउन महिनामा ३ सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन्।