काठमाडौँ। रसुवा जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण ग्रिडको विधुत लाइन पुगेको छ।
नेपाल विधुत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विधुत पुर्याएको हो। बत्ती पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको छ।
धार्मिक एवं पर्यटकीय स्थल गोसाइकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विधुत पुर्याइएको हो। हालसम्म गोसाईकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विधुत प्रयोग गर्दै आइरहेका थिए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विधुत पुर्याइएको बताए। निर्देशक घिसिङले भने, ‘प्राधिकरणमा जागिर सुरू गर्नासाथै मैले प्यूठानस्थिति धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्धारीमा विधुत पुर्याएको थिएँ, अहिले देशलाई पूर्ण रूपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विधुतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाईकुण्ड,अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विधुत पुर्याइरहेका छौं।’
रसुवाको सदरमुकामबाट गोसाईकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो। चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईकुण्डमा पुर्याइएको छ। यसका लागि निकुञ्जसँगको समन्वयमा २ सय वटा पोल राखिएका छन्। पोल, ट्रान्सफर्मर लगायतका उपकरणहरु मानिस र खच्चडले ढुवानी गरिएको थियो।
गोसाईकुण्डमा विधुत आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ। वर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने छ। वर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गुसाईकुण्डमा १५(१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विधुत आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।
गोसाईकुण्डमा विधुत सेवा पुर्याउनका लागि गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो। उक्त कार्यको अनुमानित लागत करिब ३ करोड रूपैयाँ रहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar