ललितपुर। अविरल वर्षासँगै पहिरोमा परी ललितपुर गोदावरी नगरपालिकामा ११ जनाको मृत्यु भएको छ।
वडा नम्बर ६ मा तीन, ३, ९ र १० मा दुई/दुईजनाको मृत्यु भएको छ। वडा नम्बर ५ र ७ मा एक/एक जनाको ज्यान गएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ।
परिसरका अनुसार वडा नं. ६ टीकाभैरवमा पहिरोले पुरीएर ५५ वर्षीय प्रल्हाद थापा, ३० वर्षीय सुमन थापा र ५० वर्षीय भाइकृष्ण खड्काको मृत्यु भएको हो।
यसैगरी वडा नं. १० न्यौपानेगाउँमा एससीआरसी होस्टेल पछाडिबाट पहिरो खस्दा ७ वर्षीय सुजन राईको मृत्यु भएको हो। सोही वडामा पहिरोले टहरो ढल्दा ५५ वर्षीया सानु चालिसेको मृत्यु भएको प्रहरीले जनाएको छ।
वडा नं. ९ छम्पीमा टहरामा पुरिएर ४२ वर्षीया सुनिता तामाङ र चुनीखेलमा पुरिएर पाँचथरकी सुशीला लिम्बुको मृत्यु भएको छ। यस्तै वडा नं. ३ मा पहिरोमा परी पवन नगरकोटी र उनकी छोरी मेन्सिला नगरकोटीको मृत्यु भएको छ।
यसैगरी वडा नं. ५ की ३८ वर्षीय शर्मीला महतको पनि पहिरोमा परी मुत्यु भएको हो।
वडा नं. ७ देवीचौरमा अनिल रुम्बाको ढलेको गोठमा गएका अन्दाजी २८–३० वर्षीय एक कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका ८ शंखादेवीमा १ जना र वडा नम्बर ९ सिस्नेरीमा बाढी पहिरोमा परी दुईजनाको ज्यान गएको छ।