काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (मङ्गलबार) उत्सव मनाउनेगरी सजधज तय गरिएको थियो।
नेपाली आकाशमा १६ वर्ष उडान भरेको बुद्ध एयरको एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमानको भव्य रूपमा बिदाइ समारोह गरिएको थियो।
उक्त विमानलाई औपचारिक बिदाइ गर्ने वातावरण निकै भावुक पनि थियो। आफ्नो व्यावसायिक उडानमा रहेको विमानलाई बिदा गर्ने क्षणमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत भावुक थिए। बुद्ध एयरका कर्मचारी परिवार मात्रै हैन उपस्थित सरोकारवाला र सञ्चारकर्मी पनि भावुक भएका थिए। लामो समय यात्रुलाई सेवा दिएको विमान बिदाइ गर्दा भावुक माहोल सिर्जना हुनु स्वाभाविक पनि हो।
“आजको समारोह विश्वव्यापी रूपमा एटिआर विमान सञ्चालनको इतिहासमा कोसेढुङ्गा हो। हामीले ७० हजार साइकलको पूर्ण आर्थिक जीवन र त्यो पनि व्यावसायिक यात्रु सञ्चालनमार्फत प्रतिस्पर्धा गर्ने पहिलो एटिआरलाई बिदाइ गर्दैछौँ। साच्चै यो ऐतिहासिक क्षण हो”, अध्यक्ष बस्नेतले भने। उनले आगामी दिनमा नेपाल र नेपालीका लागि उत्कृष्ट उड्डयन सेवा प्रदान गर्न प्रतिबद्धताका साथ लाग्ने समेत बताए।
अध्यक्ष बस्नेतले एटिआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको दाबी गर्नुभयो । “सन् २००८ मा दुई वटा एटिआर–४२ विमान भित्र्याएर उडानको फड्को मारौँ अब, यो विमान इतिहास बनेको छ । बाँकी १८ एटिआर विमानले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउछौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।
उडान अवधिमा ७० हजार उडान अवतरण ९साइकल० गरेको एटिआर–४२ विमानलाई पहिलो पटक आज बिदाइ गरिएको हो। एटिआरको इतिहासमा यो नै पहिलो बिदाइ कार्यक्रम भएको बुद्ध एयरले जनाएको छ। कूल ४५ सिट क्षमताको एटिआर विमानले १६ वर्षमा ४४ हजार चार सय ७७ उडानमार्फत १.८ मिलियन यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ।
एटिआर कम्पनीको मापदण्डअनुरुप विमानले निश्चित साइकल पूरा गरिसकेपछि उडानबाट ‘रिटायर्ड’ हुने भएकाले विमानलाई उडानबाट बिदाइ गरिएको हो। “अन्य सिरिजका जहाजले ७० हजार साइकल पूरा गरेपछि पनि उडानमा ल्याएका हुन्छन् तर एटिआरको मापदण्ड नै ७० हजार साइकल भएकाले यसलाई उडानबाट बिदा गरिएको बुद्ध एअरले जनाएको छ। उडानबाट बिदाइ भएको विमानको बाहिरी भाग नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने र विमानभित्रका पार्टपुर्जा अन्य जहाजको मर्मतमा प्रयोग गरिने जानकारी दिए।
पहिलो पटक एटिआर विमानको बिदाइ
बुद्ध एयरको एटिआर–४२ विमान बिदाइ कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोराले सम्मान दिएर उक्त विमानलाई बिदाइ गरिएको छ। एउटै विमानबाट १८ लाख यात्रुलाई उडान सेवा दिएको एटिआर विमानले अब कहिल्यै उडान भर्ने छैन।
बुद्ध एयरले सन् २००८ भित्र्याएको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको उक्त एटिआर विमानलाई अब कहिल्यै नउडाउने गरी बिदा गरेको हो। कम्पनीसँग ४७ सिटका एटिआर–४२ तीन र ७० सिट क्षमताका १५ वटा एटिआर विमान छन्।
विमानको उमेर उसको उडान अवतरण सङ्ख्याले निर्धारण गर्ने विज्ञहरू बताउँछन्। “विमानको उमेर अवधि साता, दिन, वर्षका आधारमा हुँदैन। हरेक उडान अवतरणको निश्चित सङ्ख्यापछि मर्मतसम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ। बुद्ध एअरका अनुसार विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाइँदैन। यसपछि विमानलाई बिदाइ गर्नैपर्ने हुन्छ। बुद्ध एयरले १८ वटा एटिआर विमान भित्रयाइसकेको छ।
बुद्ध एयर एटिआर सञ्चालन गर्ने संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी रहेको जनाइएको छ। एटिआरले अहिलेसम्म करिब २५ हजार विमान निर्माण गरिसकेको बताइन्छ। एटिआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरी यसरी बिदाइ गरिएको संसारमै पहिलो पटक हो।
विमानस्थलका महाप्रबन्धक रिञ्जी शेर्पाले बुद्ध एयरले सुरक्षित उडानमा गरिरहेको अभ्यासको सराहना गर्दै आगामी दिनमा यात्रुको सेवा सुरक्षालाई थप बलियो बनाएर लैजाने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूतावास एल्सा काली, एटिआर कम्पनीका प्रतिनिधि पवन तनवानी लगायत विभिन्न बैंकका सिइओहरूको समेत उपस्थिति रहेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar