काठमाडौँ। निर्माणको सिजन सुरू भएसँगै बजारमा सिमेन्टको मूल्य प्रतिबोरा एक सय रूपैयाँसम्म बढेको छ। अत्यधिक मात्रामा उत्पादन र आपूर्ति भएर मूल्य घट्दा उद्योग घाटामा गएको भन्दै उद्योगीहरूले मूल्य बढाएका हुन्।
यसअघि पीपीसी सिमेन्टको मूल्य पाँच सय हाराहारी रहेकोमा अहिले ६ सय रूपैयाँ पुगेको छ। यस्तै, ६ सय रूपैयाँ हाराहारी रहेको ओपीसी सिमेन्टको मूल्य सवा ७ सय रूपैयाँसम्म पुगेको छ।
सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा थिए। तर केही ठुला उद्योगीहरू यसमा सहमत नभएपछि रोकिएको थियो। यस पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन्। सबै सहमत भएसँगै ठूला र राम्रो बजार नेटवर्क भएका सिमेन्टको मूल्य बढेको छ।
सिमेन्ट उत्पादक संघका अनुसार उद्योग सञ्चालन खर्चसमेत धान्न मुस्किल भएपछि मूल्य बढाउने सहमति गरिएको बताइएको छ। मूल्य वृद्धि गरेसँगै नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्ति निकालेर मूल्य वृद्धि खारेज गर्न माग गरेको छ।
‘सिमेन्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्य वृद्धि नहुँदा पनि कार्टेलिङ गरी विगत एक महिनाको अवधिमा नै पटक पटक गरी प्रति बोरा १ सयभन्दा बढी मूल्य वृद्धि गरिएको छ।
निर्माण कार्य हुने अहिलकै सिजनमा सिमित सिमेन्ट उद्योगीहरूले मूल्य वृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको यस महासंघको ठहर छ विज्ञप्ति भनिएको छ।
विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्य वृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले जनाएको छ। मूल्य वृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पार्ने जनाइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar