सरकारले के साँच्चै दरबार हत्याकाण्डको छानबिन गर्ला ?

माघ १६ , काठमाडौं ।  दरबार हत्या प्रकरण फेरि चर्चामा आएको छ । २०५८ जेठ १९ गते भएको दरबार नरसंहारको विषयमा पूर्वराजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले नयाँ बहस शुरु गराइदिएका छन् । के दरबार हत्या प्रकरण अब छानविनको दायरामा आउला ? दरबार हत्याकाण्डको वास्तविकता बाहिर आउँला ? पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लागेको आरोपको छिनाफानो होला ?

दरबार हत्या प्रकण अहिले पनि आम नेपालीले विर्सिन नसक्ने घटनाको रुपमा दर्ज छ । दरबार हत्या प्रकरणमा विभिन्न तर्क पेश भएपनि हत्याको चुरो अहिलेसम्म सुल्झिन सकेको छैन् । रहस्यमयी दरबार हत्या प्रकरणमा तत्कालीन राजसंस्थाले गरेको अनुसन्धान पनि विश्वसनीय बन्न नसक्दा यो विषय थप रहस्यमयी बनिरहेको छ । यस्तोमा धेरैले दरबार हत्या प्रकरणमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोडेर हेर्ने र उनीमाथि आक्षेप लगाउने गरेको पाइन्छ । यस्तो आरोपबारे जानकार ज्ञानेन्द्र शाहले आफूमाथि राजनीति गरिएको र जनतालाई भ्रममा राख्न खोजिएको भन्दै केहीदिन अघि सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।

पुर्वराजाले दरबार हत्या प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र जबरजस्त जोड्न खोजिएको विषय उठाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कडा प्रतिवाद गरेका छन् । ओलीले दरबार हत्याको मुख्य योजनाकार दिपेन्द्रलाई मानिएको तथ्यलाई ठाडै अस्वीकार गर्दै तथानाम जस्तै गरे ।

प्रमुख प्रतिपक्ष मात्रै नभएर पुर्वराजालाई राजनीतिक प्रतिष्पर्धामा आउन चुनौति दिनेक्रम पनि चलि नै रहेको देखिन्छ । यस्तो चेतावनी दिनेमा प्रायः नेताहरु छन् । तर, सोमवार पर्सामा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्रीले दरबार हत्या प्रकरणलाई छानविनको दायरामा ल्याउने बताएपछि यो विषय थप चर्चा र चासोमा देखिन पुगेको छ ।

सरकारले यस्तो हत्या प्रकरणको अनुसन्धान निष्पक्ष ढंगले गर्ला ? वंश नै नास हुने गरि भएको दर्दनाक घटनामा सरकारले छानविनको हिम्मत गर्ला ? प्रश्न धेरै नै जटिल देखिन्छ । तर पनि प्रधानमन्त्री प्रचण्डले दरबार हत्या प्रकरणको अनुसन्धान गरिने दावी गरेका छन् । यसअघि पनि अनुसन्धान गर्नुपर्ने विषय उठेपनि कसैले हिम्मत गरेर यो फाइल खोल्ने प्रयास गरेको देखिन्न । इतिहासको गर्भमा रहेको विषय खोतल्नु सामान्य विषय नभए पनि यो विषयमा प्रचण्ड सरकारले छानबिन गर्ने हिम्मत गरेमा यसले ठूलो तरङ्ग पैदा गर्नेमा कुनै आशंका छैन ।

प्रतिक्रिया