शुक्रबारबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ। विधुत व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो।

प्राधिकरणका अनुसार क्षेत्रीय विधुत व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको र भारतको केन्द्रीय विधुत नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि प्राधिकरणले शुक्रवार विधुत निर्यात गर्नेछ।

विधुत व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौतामा नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विधुत बङ्गलादेश निर्यात गर्ने गरिनेछ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ। सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पुर्याउनेछ। 

सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुग्नेछ। प्राधिकरणले प्रतियुनिट आठ रूपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ।

प्राधिकारणका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविधुत आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेश पठाउनेछ। यसैबीच, बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा भैसकेको छ।

सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बङ्गलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ।

प्रतिक्रिया