काठमाडौँ। श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाताको सङ्ख्या ६ वर्षमा करिब ९ गुणाले बढेको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा श्रम अडिट गरिएका रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या ४६९ रहेकोमा आ.व. २०८०/८१ मा ४ हजार १३९ पुगेको छ।
विभागका अनुसार श्रम ऐन र नियमावलीको प्रावधान अनुसार प्रतिष्ठानलाई श्रमिकप्रति दायित्वबोध गराउन ‘श्रम अडिट मापदण्ड २०७५’ जारी भएपछि सबैभन्दा बढी श्रम अडिट प्रतिवेदन आ.व. २०८०/८१ मा पेश भएको छ।
आ.व. २०७९/८० मा ३ हजार ४२३ रोजगारदाता अडिट भएको थियो। आ.व. २०७८/७९ मा श्रम अडिट पेश गर्नेको सङ्ख्या दुई हजार ९१९ थियो भने आ.व. २०७७/७८ मा २ हजार ३१३ रहेको थियो।
श्रम अडिट प्रतिवेदन पेश गर्ने औद्योगिक प्रतिष्ठानको सङ्ख्या बढेसँगै श्रमसम्बन्धी नीतिगत एवं कानुनी व्यवस्था परिपालनाको स्तर बढेको विभागले जनाएको छ। श्रम नियमावली २०७५ को नियम ५६ मा मुलुकभर सञ्चालनमा रहेका प्रतिष्ठानले गर्नु/गराउनुपर्ने श्रम अडिटको सम्बन्धमा उल्लेख छ।
नियमावलीमा प्रत्येक वर्षको पुस मसान्तभित्र आफ्नो प्रतिष्ठानको सम्बन्धमा मन्त्रालयले तोकेको मापदण्डबमोजिम प्रतिष्ठानको आफ्नै व्यवस्थापकीय तहको श्रमिक वा श्रम क्षेत्रसँग सम्बद्ध अन्य कुनै व्यक्ति वा संस्थामार्फत श्रम अडिट गराउनुपर्ने प्रावधान छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar