काठमाडौँ। काठमाडौँमा दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएको छ। काठमाडौँमा मेलम्चीको पानी वितरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको छ।
दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन्। सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ। मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ।
समितिका अनुसार मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौँमा ल्याउने तयारी गरिएको छ। सोही योजनाअनुसार अहिले काठमाडौँमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको छ। बर्खा याम सुरू भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी बन्द गरिएको थियो। बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी बितरण गर्ने तयारी भइरहेको छ।
काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ।
काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी भइरहेको छ। मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा १ हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar