माघ २२, काठमाडौँ। नेकपा (एमाले) धादिङ जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न संगठन विभागले दुई जना नेता खटाउने भएको छ।
नवौं जिल्ला अधिवेशनमा विवाद सिर्जना भएर अनेरास्ववियुका कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो देखाएका थिए। उनले अध्यक्ष मण्डलसहित ८ जना नेतालाई काठमाडौं बोलाएका थिए। आइतबार राति १ बजेसम्म अध्यक्ष ओली निवास बालकोटमा छलफल भएको र विवाद समाधानका लागि संगठन विभागले दुई जना खटाउने निर्णय भएको एमाले बागमती प्रदेश सचिव नवराज सिलवालले सिएफ़एन खबर लाई जानकारी दिए।
संगठन विभागले प्रतिनिधि मनोनीत, अध्यक्ष मण्डल गठनको विवाद निरूपण गर्ने र मंगलबारबाट बन्दसत्र सुरू गर्ने समझदारी जुटेको सिलवालले बताए। संगठन विभागले पठाउने नेता भने तय भइनसकेको उनको भनाइ छ।
अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवाल, सिन्धुलीका इन्चार्ज खेम लोहनी सहितका नेतालाई काठमाडौं बोलाएका थिए। त्यस्तै, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी, अध्यक्ष मण्डलका सदस्य रेशम लामा र मीनराज कँडेल सहितका नेतालाई अध्यक्ष ओलीले छलफलका लागि बोलाएका थिए।
शुक्रबारबाट सुरू भएको एमाले धादिङको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष कसलाई बनाउने भनेरै विवाद भएको थियो। निवर्तमान कमिटीले देवकोटालाई बनाएको थियो। जिल्ला अधिवेशनमा अध्यक्ष ओली समूहकै दुई गुटको लडाइँ देखिएको छ। निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी अध्यक्षका आकांक्षी छन्।
उनीहरूबीचको गुटको लडाइँ कुटाकुटमा परिणत भएको र अनेरास्ववियुका कार्यकर्ता खनालको हात भाँच्चिएको थियो। निवर्तमान कमिटीका तीन पदाधिकारीसहित अधिकांश सदस्य त्रिपाठीको पक्षमा उभिएपछि परिणाम आफ्नो पक्षमा पार्न अधिकारी समूह लागिपरेको एक नेताले बताए। उनकाअनुसार अधिकारीका पक्षमा बागमती प्रदेश इन्चार्ज गुरू बराल, सिन्धुली इन्चार्ज खेम लोहनी, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, बागमती प्रदेश कमिटी सदस्य रमेश आचार्यलगायत छन्।
‘सुरूमा उनीहरूले अध्यक्ष मण्डलको नेतृत्व बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले गर्नुपर्छ भन्दै निहुँ खोजे। त्यसो गर्न सकिए आफू अनुकूलको कमिटी घोषणा गर्न पाइन्छ भन्ने उनीहरूको ध्येय थियो,’ ती नेताले भने। तर निवर्तमान कमिटीका अधिकांश पदाधिकारीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटालाई बनाउनुपर्छ भनेर अडान नछाडेपछि ढुंगेल पक्ष रक्षात्मक बन्न पुगेको ती नेताको दाबी छ। ‘हामीले उहाँलाई अतिथि पर्यवेक्षक बस्नूस् भनेपछि उहाँले मान्नुभएको थियो,’ अर्का नेताले भने।
देवकोटाको नेतृत्वमा जिल्ला सहइन्चार्जद्वय जानुका सिंखडा, रेशम लामा, प्रदेश कमिटीका सदस्यद्वय ध्रुवराज विश्वकर्मा र धनबहादुर घलेको अध्यक्ष मण्डल बनाइएको ती नेताले बताए। जिल्ला अध्यक्षका आकांक्षी अधिकारी पक्षधर नेता कार्यकर्ताले हुलहुज्जत, नाराबाजी गर्न र धर्ना बस्न थालेपछि प्रदेश अध्यक्ष ढुंगेल र प्रदेश सचिव नवराज सिलवाललाई अध्यक्ष मण्डलमा थप गर्ने सहमति भएको थियो।
त्यतिले पनि परिणाम आफ्नो पक्षमा पार्न नसकिने देखेपछि अधिवेशन स्थगितको सूचना सामाजिक सञ्जालमा छरेर काठमाडौं हिँडेको त्रिपाठी समूहले बताएको छ। शनिबार साँझ गुरू बराल, भूमि त्रिपाठी, खेम लोहनी र मीनराज कँडेललाई सहजीकरणको जिम्मा दिने र बिहान ८ बजेपछि बन्दसत्र सुरू गर्ने सहमति भएको थियो।
‘५८० प्रतिनिधिमा उनीहरूको चार जना सदस्य मिलाउने सहमति पनि भएको थियो। किनभने उहाँहरू मनोनीत प्रतिनिधिको विवाद झिकेर तमासा देखाइरहनुभएको थियो। जनसंगठनबाट तीन–तीन जना प्रतिनिधि जना प्रतिनिधि ल्याइएको थियो। त्यसमा पनि आपत्ति जनाउन थालेपछि चार जना थप्न हामी मञ्जुर भएका थियौं। यतिले पनि नपुग्ने देखेपछि अधिवेशन स्थगितको भ्रम फिँजाउनुभयो,’ समूहका एक नेताले भने।
प्रदेश ढुंगेलले अधिवेशन स्थगितको भ्रम फिँजाएको भन्दै निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन यथावत् रहेको विज्ञप्ति जारी गरेका थिए। अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली नै धादिङबेसी जाने कार्यक्रम थियो। तर बाटो लामो भएको कारण देखाउँदै ओली गएनन्। उनी नगएपछि महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए।
उनले प्रदेश अध्यक्ष ढुंगेललाई फोन गरेर अधिवेशन समस्याग्रस्त नबनाउन बरू काठमाडौं फर्कन सुझाए पनि आफ्ना अनुकूलका पात्रलाई जिताउन लागिपरेको ती नेताको दाबी छ। धादिङमा भूमि त्रिपाठी र खेम लोहनी बीचको अस्वस्थ प्रतिस्पर्धाको मार अधिवेशनले खेप्नुपरेको र एक जना कार्यकर्ताको हातै भाँच्चिन पुगेको ती नेताले बताए।
प्रदेश कमिटी सदस्य रमेश आचार्यले आफूहरूले अध्यक्ष मण्डलको अध्यक्ष धर्मदत्त देवकोटालाई बनाउन नहुने माग राखेको बताए। ‘हाम्रो माग धर्मदत्त देवकोटालाई अध्यक्ष मण्डलको अध्यक्ष बनाउनु हुँदैन। पाँच प्रतिशत मनोनीतको विषय नटुंग्याइ बन्दसत्रको प्रक्रिया अघि बढाउनु हुँदैन। अधिवेशनमा स्वयंसेवक कम्युनिस्ट पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुप¥यो भन्ने थियो,’ आचार्यले भने।तर निवर्तमान अध्यक्ष त्रिपाठीले एकलौटी गर्न खोजेपछि विवाद भएको उनले बताए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar