फागुन २१ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बहालवाला सबै मन्त्री बर्खास्त गरी उनले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्य गर्ने सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला सबै मन्त्री बर्खास्त गरेका हुन् ।
नयाँ समीकरणमा सहभागी दलहरुसँगको सहमतिमा ४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । नेकपा एमालेका पदम गिरी, आफ्नो दल नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई मन्त्री नियुक्त गरेका छन् ।
तीनै जनाले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने पछि तोकिने राष्ट्रपति कार्यालयले पठाएको विज्ञप्तिमा उल्लेख छ । २६ पुस २०७९ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले करिब डेढ महिनापछि गठबन्धन परिवर्तन गरेका थिए ।
उनले एमालेसँगको सहकार्य छाडेर नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेर मन्त्रिपरिषद गठन गरेका थिए । जसमा कांग्रेसका ९ जना, माओवादी केन्द्रका ५ मन्त्री र एक राज्यमन्त्री, जनता समाजवादी पार्टीका २ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना मन्त्री थिए ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar