काठमाडौँ। अविरल वर्षाका कारण आएको बाढीले काठमाडौँका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने भएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पुर्याएका ठाउँमा आज अनुगमन तथा निरीक्षण गरी खानेपानी आपूर्तिका लागि आवश्यक कार्य गर्न निर्देशन दिएअनुसार काम अगाडि बढेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए उनले भने, “सोमबारसम्म बागमती नदीबाट ४ करोड लिटर पानी ल्याई नियमित रूटबाट वितरण गर्छौं। भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ।”
यसैगरी, फर्पिङ जलविधुत गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानी आपूर्ति असहज भएको पौडेलले बताए।
काठमाडौँको महाङ्काल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले मर्मतसम्हारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए। विधुतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् अवस्थामा नियमित पानी आपूर्तिमा समस्या भएको जनाइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar