काठमाडौँ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले बाढीपीडित परिवारलाई मङ्गलबार पहिलो चरणको राहत वितरण गरेको छ।
नगरपालिका र सहयोगी दाताबाट प्राप्त भएको राहत सामग्रीलाई नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जारालगायतको टोलीले वडा कार्यालयसँगको समन्वयमा सम्बन्धित ठाउँमा पुगेर वितरण गरेको हो।
नगरप्रमुख भण्डारीले पनौती नगरपालिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र रोशी भूमेडाँडा आसपासमा भएको बताए। प्रारम्भिक विवरणअनुसार तीन सय परिवार घरबारविहीन भएको उनको भनाइ छ। रोशी खोलामा गएको बाढीका कारण धेरै कटान भएर धेरै धनजनको क्षति भएको छ।
विपद्पछिको पहिलो कार्य राहत वितरण र पहुँचमार्गलाई अगाडि बढाएको उनले बताए। सोही क्षेत्रबाट काभ्रे उपत्यका एकीकृत खानेपानीको मुख्य पाइपलाइन लगेकोमा ११ किलोमिटरभन्दा बढी ठाउँमा क्षति पुगेको कारण खानेपानीको समस्यामा भएको जनाएको छ।
नगर उपप्रमुख गीता बञ्चाजाराले भूमेडाँडा रोशी आसपासका नागरिक एउटा घरबाट अर्को घरसम्म पनि जान सक्ने अवस्था नरहेका कारण त्यहाँका खानेपानी, बिजुली र राहत र उद्धारमा लागेको बताइन्। पहिलो चरणमा पीडित परिवारलाई चामल, दाल, नुन, तेल र साबुनलगायतका सामग्री वितरण गरिएको छ।
दाताबाट सङ्कलन भएको र नगरपालिकाबाट थप गरी वडा कार्यालयमार्फत नगरपालिकाको वडा नं. १, २, ३, ४ र १२ का गरी एक सय ५१ परिवारलाई राहत वितरण गरेको नगरपालिकाले जनाएको छ।
भूमेडाँडाका हरिबहादुर मुल्मिले घरबार बगाउनेदेखि पाकेको धानखेतमा धेरै क्षति भएको कारण नागरिकले धेरै पीडा खेप्नुपरेको बताए। सो क्षेत्रका नागरिकले बस्ने, खानेलगायतका राहतलाई समयमा प्राप्त गर्न नपाएको गुनासो गरेका छन्। गत बिहीबारदेखि गरेको अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढीले आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ।
मङ्गलबार नै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सबै सङ्घ÷संस्थालाई मानवीय सङ्कटको यस अवस्थामा पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न अपिल गरेका छन्। बाढीपहिरोमा परी पनौती नगरपालिका क्षेत्रभित्रका २० जना व्यक्तिको निधन भएको, धेरै व्यक्तिहरू घाइते अवस्थामा रहेको, पाँच सय घर पहिरोमा परी पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
साथै सात सय १३ घर आंशिकरूपमा क्षतिग्रस्त रहेका, पहिरोमा परी दुई हजारभन्दा बढी सङ्ख्यामा पशुधनको क्षति भएको, अधिकांश सडक बाढीले बगाएको तथा पहिरोमा पुरिएको अवस्थामा रहेको अवस्था छ।