काठमाडौँ। नुवाकोटको ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृहत स्वास्थ्य परीक्षण शिविर’मा १ हजार ३ सयभन्दा बढी बिरामी चेकजाँच गराएका छन्।
नेपाल रेडक्रस सोसाइटी जालपादेवी उपशाखा देवीघाट र यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा शनिबार सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकमार्फत बिरामीको स्वास्थ्य जाँच, प्रयोगशाला परीक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो। आयोजक यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टका अनुसार शिविरमा स्त्रीरोग तथा प्रसूतिसम्बन्धी भिडियो एक्सरे, पाठेघरको मुख र स्तनको क्यान्सरसम्बन्धी स्क्रिनिङ, नशा तथा हाडजोर्नी जाँच र प्रयोगशाला परीक्षण सेवा लिने बिरामीको सङ्ख्या बढी थियो।
शिविरमा जाँच गराउन आएका बिरामीमध्ये केहीको स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको र तत्कालै थप उपचार सेवा आवश्यक देखिएका बिरामीको पहिचान गरेर उनीहरूलाई जिल्लाको सरकारी अस्पताल (त्रिशूली अस्पताल) मा जाँच गराउन सिफारिस गरिएको छ। काठमाडद्यँबाट आएका तथा त्रिशूली अस्पताल नुवाकोटका विशेषज्ञ चिकित्सकसहित ३० स्वास्थ्यकर्मीको समूहले शिविरमा स्त्रीरोग तथा प्रसूति, आँखा तथा दृष्टिरोग, प्रयोगशाला, फिजिसियन तथा परामर्श सेवा, मनोरोग, नशा तथा हाडजोर्नीलगायत सेवा दिएको थियो। जाँच गराएका बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो।
शिविरमार्फत ग्रामीण क्षेत्रका महिला तथा ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको र आगामी दिन नुवाकोट तथा रसुवाका ग्रामीण एवं स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानमा शिविर सञ्चालन गरिने ट्रष्टले जानकारी दिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar