भदौमा नै पाक्न थाल्यो मुस्ताङको स्याउ

काठमाडौँ।  विगतका वर्षहरूमा असोज लागेपछि मात्रै पाक्ने स्याउ यसपालि भने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा फलेका स्याउ भदौ महिनाको दोस्रो हप्तामै खानयोग्य भएको छ।  

यसपालि विगतका वर्षहरूभन्दा धेरै गर्मी भएकाले स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छन्। 

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ। मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेको बताए। 

उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्, उनले भने, “स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुुलनामा केही समयअघि पाक्ने देखिएको छ।” उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ र गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुुन्छ। दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ। उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ। 

जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको थियो। 

स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समयतालिका बनाइएको छ। तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ। 

व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुुगमन गर्नुपर्ने बताइएको छ। 

प्रतिक्रिया