काठमाडौँ। आर्थिक मन्दीलगायतका कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा ६ सय १० वटा उद्योग बन्द भएका छन्।
मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आ.व. २०८०/८१ मा उद्योगतर्फ २ सय ६८ र वाणिज्यतर्फका ३ सय ३६ उद्योगले लगत कट्टा गराएका छन्। आ.व.२०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २ सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो।
आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ।
मकवानपुरमा आ.व. २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ। सो आ.व.मा उद्योगतर्फ ३ सय ६६ र वाणिज्यतर्फ ३ सय ३५ गरी सात सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताउनुभयो। आ.व. २०७९/८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए।
आ.व. २०८०÷८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, १ हजार एक सय आठ वटा नवीकरण, ४ सय ९८ वटाको पुँजी वृद्धि गरिएको थियो।
सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, आठ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, १ हजार चार सय २२ वटा उद्योगको नवीकरण भएको छ।
नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रू ३ करोड २२ लाख ४९ हजार नौ सय १० राजस्व सङ्कलन भएको वाणिज्य कार्यालयले जनाएको।