चार महिनामा १२ अर्ब ७२ करोडको विधुत भारत निर्यात

काठमाडौँ।  चालु आर्थिक वर्षको पहिलो चार महिनामा रू १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजारको विधुत भारत निर्यात भएको छ। 

नेपाल विधुत प्राधिकरणले गत साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विधुत भारत निर्यात गरेको हो। चार महिनामा भारततर्फ निर्यात गरिएको विधुतको औसत दर प्रतियुनिट सात रूपैयाँ ६३ पैसा छ। 

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विधुत बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विधुत बिक्री गरिरहेको छ। 

भारतको प्रसारण संरचना प्रयोग गरी नेपालबाट बङ्गलादेशमा पनि विधुत निर्यात सुरू भइसकेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत असोजमा आएको बाढीपहिरोका कारण जलविधुत केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विधुत उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए। “सञ्चालनमा रहेका जलविधुत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्याउँदा विधुत उत्पादन बन्द छ,”, उनले भने, “यसबाट चालु आ.व.मा राखिएको करिब रू ३० अर्बको विधुत निर्यातको लक्ष्य प्रभावित हुने देखिएको छ।”

गत साउनमा चार रू अर्ब १४ करोड ५० लाख ७७ हजार, भदौमा रू ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार, असोजमा रू ३ अर्ब  ६ करोड ५१ लाख ३९ हजार र कात्तिकमा रू १ अर्ब ८३ करोड ७ लाख ९५ हजारको विधुत निर्यात भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विधुत बिक्री गर्न स्वीकृति पाएको छ। गत आ.व.मा भारतबाट रू १६ अर्ब ९३ करोडको विधुत आयात र रू १७ अर्ब ६ करोडको निर्यात गरिएको थियो। 

प्रतिक्रिया