तनहुँ (रासस), ६ भदौ: तनहुँको व्यास नगरपालिका–१२ अन्तर्गत पृथ्वीराजमार्गमा बुधबार साँझ खसेको पहिरो बिहीबार बिहानदेखि हटाउने काम सुरु गरिएको छ। पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएको थियो, जसले गर्दा यात्रु तथा सवारी साधनले कठिनाइ भोग्नुपरेको छ।
पहिरोले सडकको माथिबाट ठूलो मात्रामा माटो र ढुंगा खसेर राजमार्ग अवरुद्ध भएको थियो। रातिको समयमा काम गर्दा जोखिम बढ्ने भएकाले पहिरो हटाउने कार्य बिहीबार बिहान ८ः३० बजेदेखि सुरु गरिएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिनुभयो। उहाँका अनुसार, निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डमा कार्यरत निर्माण कम्पनीको सहयोगमा पहिरो हटाउने काम अघि बढाइएको छ।
प्रहरीले साना तथा मझौला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। साना सवारी साधनहरू तालघरे, दरैपधेंरा हुँदै घाँसीकुवा जाने र घाँसीकुवा पोल्याङ, रानीगाउँ हुँदै तालघरे फर्कने मार्ग प्रयोग गर्न सक्नेछन्। ठूला सवारी साधनहरूलाई डुम्रे–वेसीशहर–लमजुङ सडकखण्ड हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
यस पहिरोले राजमार्गमा यातायात ठप्प भएपछि यात्रुहरूले वैकल्पिक मार्गको सहारा लिनुपरेको छ। पहिरो हटाउने काममा लागेका कर्मचारी र सुरक्षाकर्मीहरूका अनुसार, पहिरो ठूला र जोखिमपूर्ण भएकाले पूर्ण रूपमा हटाउन केही समय लाग्नेछ।
तस्बिर: कृष्ण न्यौपाने / रासस
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar