चैत २६ काठमाडौँ। अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झन्डै २० लाख डलर सहयोग (दान) गरेका छन्। गत मार्च ३० देखि अप्रिल ६ सम्म आयोजना गरिएको उक्त महायज्ञमा वाल्टिमोरका युवा व्यवसायी म्याग्दीका कृष घिमिरे, अम्मर छन्त्याल, जगत घिमिरे, सुदर्शन पौडेल, सबी थापालगायतका ६६ जनाले मन खोलेर सहयोग गरेका छन्। उक्त्त हिन्दुबुद्ध मन्दिर अमेरीकाको बाल्टिमोरमा बनाउन लागिएका लागी तीन जना गोरखाली व्यवसायीहरुले एक करोड भन्दाबढी दान गरेका छन् ।
अमेरीकाको मेरील्याण्ड बस्दै आएका गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका बोर्लाङमा घर भएका अपार श्रेष्ठले ५० हजार ५ सय ५५ डलर सहयोग गरेका छन्। अपार श्रेष्ठ १८ बर्ष अघि अमेरिका गएका उनी हाल गोरखा समाज अमेरिका मेरिल्याण्ड राज्यको अध्यक्ष समेत हुन् । अमेरिकामै उनले माउण्ट एभरेष्ट ग्रोसरी संचालनमा ल्याएका छन् । जहाँ सयौंले रोजगारी पाएका छन् । उनी एभरेष्ट इन्टरटेन्मेण्टका सिईओ पनि हुन् यस कम्पनीले मनोरंजनका विविध सामाग्रीहरु उत्पादन गरिरहेको छ । सामाजिक सेवामा सक्रिय श्रेष्ठले आफ्नो गाउँ बोर्लाङ लगायत नेपालका धेरै ठाउँहरुमा पनि आर्थिक सहायता दिएका छन् ।
साथै गोरखा भिमसेनाथापा गाउपालिका वडा न २ तान्द्राङ ओख्ले घर भएका रमेश भट्टले ३० हजार ५ सय ५५ डलर डलर र तुलसी अम्गाईले ५ हजार ५ डलर गरी कुल ८६ हजार एक सय पन्ध्र डलर (नेपाली रु एक करोड १४ हजार भन्दा माथि ) आर्थिक सहयोग गरेका छन् । रमेश भट्ट अमेरिका गएको १६ बर्ष भयो । उनी अमेरिकामा रियल स्टेटको व्यवसायीक कारोबार सुरु गरेका रमेशले धेरै नेपालीहरुलाई रोजगार दिनुका साथै अमेरिकामै घर बनाउन र बसोबास सहज बनाउन ठूलो भूमीका खेलेका छन् । रियल स्टेट र ग्याँस स्टेशन मार्फत धेरैलाई रोजगारी दिएका रमेशले आफ्नो जन्म ठाउँमा पनि थुप्रै सामाजिक काम गरेका छन् । सामाजिक कार्य भनेपनि हुरुक्कै हुने रमेश अमेरिकमा समेत सामाजिक रुपमा लाग्दै राजनीति पनि गर्छन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाका संयोजक हुन् भने गोरखा अमेरिका समाजका महासचिव समेत हुन् । अर्का सहयोगी तुलसी प्रसाद अंगाई डिभी भिसामा अमेरिका पुगेका हुन् । हाल गोरखा अमेरिका समाजका उपाध्यक्ष समेत उनी मेरिल्याण्डमै आफ्नै व्यवसायमा संलग्न छन् । अमेरिका गएको छोटो समयमै उनले व्यसायिक सफलता हासिल गरेका छन् । आफ्नो जन्म गाउँ ठाउँमा सामाजिक कार्य पर्दा आर्थिक देखी नैतिक सहयोग सम्म गर्ने उनी नेपाली समाजको विकास र उन्नतीमा खुलेरै लागेका छन् ।
महायज्ञमा कथावाचक पं. दीनबन्धु पोखरेलले कथावाचन गरेका थिए। श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रासहित विभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको जनाइएको छ। महापुराण एवम् आध्यात्मिक महोत्सवका सञ्चार संयोजक सृजन ताम्राकारका अनुसार महायज्ञको पहिलो दिन (मार्च ३०) ७० हजार डलर, मार्च ३१ मा एक लाख २८ हजार २२३ डलर, अप्रिल १ मा ६०,५७२ अप्रिल २ मा ८५,२८०, अप्रिल ३ मा १,९०,४१८, अप्रिल ४ मा १,३७,४६६, अप्रिल ५ मा ७१५,३८२ तथा अन्तिम दिन ५,५३,५४१ डलर संकलन भएको छ।