काठमाडौँ। भारी वर्षाका कारण पहिरो जाँदा अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी क्षेत्रको अन्तर्राष्ट्रिय मार्ग मर्मत कार्य सुरू भएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष वेदनिधि खनालकानुसार सडकमा आएको पहिरो पन्छाउन गल्छी, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाको डोजर प्रयोग गरी आज बिहानैदेखि काम काम सुरू गरिएको हो।
सोमबारसम्म अन्तर्राष्ट्रिय राजमार्ग खुलाउने लक्ष्यका साथ पहिरो पन्छाउने काम अगाडि बढाइएको उनले जानकारी दिए।
स्याफ्रुबेँसी–रसुवागढीमा ठूला तीन र साना पाँच गरी आठ स्थानमा पहिरो गएको थियो। पहिरो पन्छाउन आवश्यक पर्ने पेट्रोलियम पदार्थ बिहान नुवाकोटबाट पठाइएको गल्छी–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए।
सडक अवरूद्ध भएका कारण केरूङबाट आयात भएको चिनियाँ सामग्रीसहितका सवारी साधन, सार्वजनिक बस तथा बिरामी बोक्ने एम्बुलेन्स रोकिएका छन्।
यस्तै, वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढ्न जाँदा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–वान जलविधुत आयोजनाको केही उपकरण त्रिशूली नदिले बगाएको छ। आयोजनाका प्रबन्ध निर्देशक गिरिराज अधिकारीले यहाँ एकवटा मजदुर बस्ने प्रिफेव भवन नदी बगाएको र क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको जानकारी दिए।
यसैगरी, २० मेगावाट क्षमताको लाङ्टाङ खोला हाइड्रोपावरले निर्माण गरेको मजदुर निवास भवन पनि बाढीले बगाएको छ। टिमुरेका पेम्वा छिरिङ तामाङको छाप्रो पहिरोसँगै आएको लेदोले पुरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
राष्ट्रिय प्रसारण लाइनअन्तर्गत पहिरेबेँसीमा निर्माण भएको चार्जिङ सेन्टरको एक खम्बा त्रिशूली नदीले बगाउँदा करिब रु दश लाखको क्षति भएको नेपाल विधुत प्राधिकरण राष्ट्रिय प्रसारण महाशाखाका प्रमुख थर्कबहादुर थापाले बताए।
यस्तै, नेपाल–चीन बीचको अन्तर्राष्ट्रिय मार्गअन्तर्गत गल्छी मैलुङ, स्याफ्रुबेँसी सडकमा भएको क्षतिबारे स्थलगत अध्ययन भइरहेको जनाइएको छ। नेपाल विधुत प्राधिकरण धुञ्चे शाखाका प्रमुख सञ्जिप भट्टराईले भारी वर्षाका कारण गएको पहिराले विधुत प्रसारण लाइनमा क्षति भई रसुवागढी क्षेत्रको विधुत सञ्चालनमा अवरोध भएको जानकारी दिए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar