काठमाडौँ। यही असोज १० देखि १२ गतेको मनसुनी विपद्का कारण अवरूद्ध भएकामध्ये विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरूद्ध छन्।
नेपाल प्रहरीका अनुसार बाढीपहिरोले अवरूद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्चालनमा आउन सकेका छनैन्। अन्य ७ सडकखण्ड एकतर्फी खुलाइएका छन्।
अवरूद्ध सडक सञ्चालन र अन्य सडक दुईतर्फी नै खुलाउने गरी तदारुकताका साथ काम भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
प्रहरीले आज साँझ सार्वजनिक गरेको सूचनानुसार दक्षिणकाली–सिस्नेरी, धनकुटाको राँके भेडेटार सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। यस्तै बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड अवरूद्ध छन्।
मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे–तातोपानी, रामेछाप–सिन्धुली–खुरकोट, कालीगण्डकी करिडोर सालझण्डी–अर्घाखाँची–ढोरपाटन सडकखण्ड र पूर्वपश्चिम राजमार्गको मध्यविन्दु सडकखण्ड पनि अवरूद्ध रहेका प्रहरीले जनाएको छ।
अवरूद्ध रहेका दाउन्ने, पृथ्वीराजमार्गको बन्दीपुर खण्ड, तनहुँ व्यास नगरपालिका, पाँचखाल हनुमानगढी केराघारी, पृथ्वी लोकमार्गको बेनीघाट खण्ड, सुनकोसी कमेरेडाँडालगायतका खण्ड एकतर्फी सञ्चालनमा ल्याइएका छन्। एकतर्फी सडकमा दुईतर्फी यातायात सञ्चालन र अवरुद्ध सडक खुलाउने काम भइरहेको छ भने दाउन्नेमा भने आज राति बाटो बन्द गरेर थप काम गरिने जनाइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar