बागमती प्रदेशमा राजस्व सङ्कलन घट्यो

काठमाडौँ। बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा गिरावट आएको छ। 

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि घटेको हो।

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ। दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा रू १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा रू ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

कोष तथा लेखा नियन्त्रकका अनुसार सो आ.व.मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रू ६ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा त्यसको करिब ८१.३२ प्रतिशत अर्थात् रू ५ अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ। यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रूट परमिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत आ.व. २०८०/८१ मा अनुमानभन्दा १६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ। उक्त शीर्षकमा रू सात अर्ब २५ करोड राजस्व सङ्कलनको अनुमान गरेकोमा रू ६ अर्ब ११ करोड ५७ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

यस्तै प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रू ७ अर्ब ७९ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकामा रू ६ अर्ब ७५ करोड ३७ लाख सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रू ३ अर्ब ३४ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएकोमा रू २ अर्ब ३२ लाख १२ हजारमात्र प्राप्त भएको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया