रुपन्देही । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गर्दै ती सम्भावनालाई अवसरमा बदल्नु पर्ने आवश्यकता औंल्याउनु भएको छ।
शनिबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले नेपालमा ‘केही छैन’ भन्ने गलत धारणा तोड्नु आवश्यक रहेको बताउनु भयो। उहाँले नेपालको प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनु भयो।
"नेपालमा पर्याप्त स्रोत-साधन छन्। ती स्रोत-साधनमा आधारित भएर लगानी गर्न सके उद्यमशीलता विकास हुने र प्रशस्त रोजगारी सिर्जना गर्न सकिन्छ," अध्यक्ष ढकालले भन्नु भयो।
नीतिगत स्थिरता र आन्तरिक लगानीको आवश्यकताको जोड, अध्यक्ष ढकालले मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता कायम गर्नु पर्ने र आन्तरिक लगानीलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनु भयो।
"यदि हामीले नीतिगत स्थिरता कायम गरेर आन्तरिक लगानीलाई प्रोत्साहन गर्न सक्यौं भने मात्र लगानीमैत्री वातावरण सिर्जना, उत्पादन वृद्धी र रोजगारीको अवसर विस्तार गर्न सकिन्छ," उहाँले बताउनु भयो।
नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको माग अनुसार विधान संशोधन गरेको उल्लेख गर्दै उहाँले उक्त संशोधनले जिल्लास्तरका संघहरूलाई महासंघमा समेट्ने अवसर प्रदान गरेको बताउनु भयो।
वि.सं. २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघ पश्चिम नेपालकै अग्रणी संस्था रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले यसले उद्योगी व्यवसायीहरूको हकहित संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो।
उहाँले रुपन्देही नेपालकै उर्वर भूमि रहेको उल्लेख गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भन्सार तथा अन्य भौतिक पूर्वाधारले यस क्षेत्रलाई थप आर्थिक केन्द्र बनाउने विश्वास व्यक्त गर्नु भयो।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघको स्थापना २०१० सालमा विधिवत रूपमा गरिएको जानकारी दिँदै, यसको स्थापनासँगै संघले आर्थिक, सामाजिक तथा भौतिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताउनु भयो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar