हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

काठमाडौँ।  हेटौँडा–९ लामसुरस्थित हेटौँडा सिमेन्ट उद्योगले अढाई महिनापछि क्लिङ्कर उत्पादन सरु गरेको छ। 

उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ कोइला अभाव, उत्पादन भएको सिमेन्ट बिक्री नहुने, बिग्रेका मेसिन मर्मत गर्ने रकम अभावजस्ता कारणले अढाई महिनादेखि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको थियो।

उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री हुन नसकेका कारण केही महिनाअघिसम्म समस्या थियो तर अहिले उद्योगमा करिब तीन हजार पाँच सय बोरा तयारी सिमेन्ट मौज्दात रहेको हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन समितिले जानकारी दिएको छ।  करिब २० दिनका लागि आवश्यक कोइला मौज्दात राखेर उद्योग सञ्चालन सुरू गरिएको हो।

उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री नभएपछि स्टकमा बसेको र कोइला खरिद गर्न रकम अभाव भएको उद्योग व्यवस्थापन समितिले जनाएको छ।  उद्योगलाई आवश्यक पर्ने कोइला भारत, इन्डोनेसिया र भूटानबाट बोलपत्रमार्फत आपूर्ति गर्दै आएको छ।

कच्चापदार्थभन्दा पनि चार दशक पुराना मेसिन पटकपटक बिग्रेर मर्मत गर्ने काममा समस्या रहेको उद्योग व्यवस्थापन समितिले जानकारी दिएको हो।  उद्योगलाई आवश्यक पर्ने कोइला उद्योगमा मौज्दात भएपछि पुनः सिमेन्ट उत्पादन सुरू गरिएको हो। 

तत्कालीन सरकारले २०३३ सालमा हेटौँडा–९ लामसुरेमा सिमेन्ट उद्योग स्थापना गरेको हो। तत्कालीन समयमा रू एक अर्ब ३८ करोड ९० लाखको लागतमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरू गरेको थियो। पछिल्लो पाँच वर्ष यो उद्योग घाटामा सञ्चालन भइरहेको छ।  विधुत महसुल बढेको र सिमेन्टको बजार मूल्य घटेका कारण पनि उद्योगले घाटा ब्यहोर्नु परेको बताइएको छ।

प्रतिक्रिया