चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिंदै

काठमाडौँ।  चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा)  थपिने भएको छ। यसवर्ष २ वटा बच्चा जन्मिसकेका छन् भने ६ वटा जन्मिने क्रममा रहेका छन्।

तालिम केन्द्रका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन्। यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने छन्। तालिम केन्द्रका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन्।

एक–दुई महिनाको फरक परे पनि यसै वर्षमा ८ वटा छावा थपिँदै छन् भने यसअघि वि.सं. २०८० सालमा २ वटा छावा जन्मिएका थिए र ती छावा गण्डकीकली र प्रवेशकलीले जन्माएका हुन्। वि.सं. २०७९ मा ६ वटा छावा जन्माएका थिए।

बच्चा जन्मिएको २ महिनापछि हात्ती पुनःगर्भवती हुन योग्य हुने जनाइएको छ। केन्द्रका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछन्। अधिकांश छावा जङ्गली हात्ती रोनाल्डो, गोविन्दे, ध्रुवे र मकुनाका हुन्। खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको गर्दछन्।

जन्मिएको ३ वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ। तालिम केन्द्रका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा रहेका छन्। वि.सं. २०४४ सालदेखि सुरू भई विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए।

हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ। यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ।

प्रतिक्रिया