काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकिएको सीप र ज्ञानलाई स्वदेशमै प्रयोग गरेर रोजगारी र आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजना गरिएको ‘नेपाल महोत्सव २०२५’ लाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो।
अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावनाहरू रहेको बताउँदै योजनाबद्ध दीर्घकालीन सोचबिनाको विकास सम्भव नभएको उल्लेख गर्नुभयो। उहाँले भने, हामीले दुबईबाट सिक्न सक्छौं—जहाँ तेलमा मात्र निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सिटी र व्यापारमा सफलता हासिल गरिएको छ। नेपालले पनि उर्जा, पर्यटन, कृषि र सूचना प्रविधिजस्ता क्षेत्रमा विविधीकरण गरेर ती सम्भावनाबाट लाभ लिन सक्नुपर्छ।
उहाँले वैदेशिक लगानी भित्र्याएर रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा पुर्याउन सकिने बताउनुभयो। साथै, नेपालको कला, संस्कृति र परम्परा विश्वसामु चिनाउन यस्ता महोत्सवहरू महत्वपूर्ण हुने धारणा उहाँले राख्नुभयो। “नेपाल कला र संस्कृति मै धनी मुलुक हो। विदेशमा हुने यस्ता कार्यक्रमहरूले नेपाललाई विश्वसामु चिनाउने र मित्रता बढाउने माध्यम बन्छन्,” उहाँले भन्नुभयो।
ढकालले नेपाल उद्योग वाणिज्य महासंघले यूएईसँग आर्थिक सम्बन्ध सुदृढ बनाउन निरन्तर काम गरिरहेको जानकारी दिँदै, सन् २०२३ डिसेम्बरमा अबुधाबीस्थित नेपाली राजदूतावास र दुबई चेम्बर अफ कमर्ससँग मिलेर ‘नेपाल–दुबई व्यवसायिक फोरम’ को आयोजना गरिएको र यसले दुई देशबीच व्यापारिक सहकार्यका नयाँ सम्भावनाहरू उजागर गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा अध्यक्ष ढकालले विदेशमा कार्यरत नेपालीहरूलाई निजी क्षेत्रले उच्च सम्मान गर्ने कुरा पनि उल्लेख गर्दै नेपाल–यूएई सम्बन्धलाई अझै मजबुत बनाउन महासंघ प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar