वास्तु अनुसार सोफा सेट कहाँ र कसरी राख्ने? ध्यान दिनुहोस् यी कुराहरूमा

काठमाडौँ।  वास्तुशास्त्रमा घरमा रहने हरेक सामग्रीका लागि निश्चित स्थान तोकिएको हुन्छ। 

त्यसैले सकारात्मक प्रभावका लागि हरेक वस्तुलाई उपयुक्त दिशामा राख्नु आवश्यक हुन्छ। आज हामी हरेक बैठक कोठालाई शोभायमान बनाइराख्ने सोफाको उपयुक्त स्थानका बारेमा यहाँ चर्चा गर्दैछौँ।

वास्तुअनुसार सोफालाई दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ। यसरी राख्दा सोफामा बस्ने व्यक्तिको अनुहार पूर्व वा उत्तरतर्फ फर्केको हुनुपर्छ। यसबाहेक दक्षिण र पश्चिम दिशाको मध्य स्थान नैऋत्य कोणमा राख्न सकिन्छ। नैऋत्य कोण पृथ्वी तत्त्वको स्थान हो। 

यो दिशा नैऋत देवको आधिपत्यमा रहेको हुन्छ। यस दिशाका स्वामी राहु र केतु हुन्। यो ठाउँमा भारी र अग्लो सामान राख्नु राम्रो मानिन्छ। त्यसैले दिशामा दराज, सोफा, मेच जस्ता गरुङ्गा चिजहरू राख्नु पर्दछ।  यसरी राख्दा राहु र केतु सन्तुलित स्थितिमा रहन्छन् र घरको सुख-शान्तिलाई पनि निर्धारण गर्छ।

यसबाहेक घरको मूलढोकालाई आधार मानेर सोफाको स्थान तय गर्न सकिन्छ।  यदि घरको मूलढोका उत्तर दिशामा खुल्छ भने सोफा घरको दक्षिण वा पश्चिम दिशामा राख्न सकिन्छ। मूलढोका पश्चिम दिशामा खुल्छ भने सोफा दक्षिण-पश्चिम दिशामा राख्नाले शुभ फल प्राप्त हुन्छ। 

कस्तो सोफा कता राख्ने?

यदि तीन सिट सोफा छ भने, तीन सिट पर्ने भागलाई दक्षिणतिर, एउटा भागलाई पश्चिम र अर्को भागलाई उत्तरतिर राख्नुपर्छ। यो सोफा राख्नको लागि उत्तम दिशा हो। साथै घरको मुखिया सधैँ ढोकातिर फर्केर बस्नु पर्छ।

साथै, यदि ‘L’ आकारको सोफा छ भने एउटा भाग पश्चिम र अर्को दक्षिणतिर हुनुपर्छ। यसरी राख्दा सोफामा बस्ने व्यक्तिको अनुहार पूर्व वा उत्तर तर्फ फर्किएको हुनुपर्छ।

सोफा राख्नको लागि अनुपयुक्त दिशाहरू

ईशान कोणलाई देवताहरूको दिशा मानिने भएकाले यो दिशामा सोफा राख्नु अशुभ मानिन्छ। दक्षिण(पूर्व दिशा अर्थात आग्नेय कोण पनि सोफाका लागि अनुपयुक्त दिशा हो। अग्नि देवताको यस दिशामा सोफा राख्नाले परिवारमा कलह र विवाद हुन सक्छ।

त्यस्तै सोफा सेटको अगाडि झ्याल वा ढोका जस्ता कुनै पनि अवरोध हुनु हुँदैन। सोफा सेटको वरपर कुनैपनि देवीदेवताको मूर्ति वा तस्विर लगाउनु राम्रो मानिँदैन।

प्रतिक्रिया