बहिरा अपाङ्गता भएका बालबालिकासँग संवाद सहज बनाउन अभिभावकलाई सांकेतिक भाषा तालिम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बहिरा अपाङ्गता भएका बालबालिकासँग अभिभावकको संवाद सहज बनाउने उद्देश्यले १० जना अभिभावकलाई नेपाली सांकेतिक भाषाको तालिम प्रदान गरेको छ। काठमाडौँ बहिरा संघको सहकार्यमा सञ्चालित उक्त तालिमले बालबालिकाको भावना बुझ्न र उनीहरूको हेरचाहमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालिम समापन कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भने, “हेर्दा सानो देखिए पनि यस्तो पहलले पहुँचयुक्त र मानवीय सहर निर्माणमा ठूलो योगदान पुर्‍याउँछ। यस तालिमबाट बालबालिकाले अभिभावकबाट बालमैत्री व्यवहार र ममता पाउनेछन्।”

संघकी अध्यक्ष सत्यदेवी वाग्लेले सार्वजनिक सेवामा जाँदा नयाँ शब्दको संकेत नहुँदा बहिरा समुदायले समस्याको सामना गर्नु परिरहेको बताउँदै नेपाली सांकेतिक भाषा शब्दकोषलाई समृद्ध बनाउन र नियमित तालिम सञ्चालन गर्न आग्रह गरिन्।

नेपाली सांकेतिक भाषा दोभाषे प्रकाश महर्जनका अनुसार हालसम्म करिब ५ हजार ५ शब्दको संकेत समावेश गरिएको शब्दकोष सार्वजनिक भइसकेको छ भने ७ हजार शब्दको संकेतको नयाँ संस्करण प्रकाशनको तयारीमा छ।

तालिममा अभिवादन, समय, नातागोता, रङ, शरीरका अङ्ग, स्वास्थ्य, जनावर, खाना, भावना, लुगा, खेल, उपकरण, दैनिक जीवनका क्रियाकलापसम्बन्धी थुप्रै संकेतहरू सिकाइएका थिए। यस्तै, विपरीतार्थक शब्द, सर्वनाम, संख्याहरू, धर्म-संस्कृति, पेशा, भावना, लत र लागू पदार्थ, घरेलु उपकरण, तथा विविध विषयका संकेतहरू पनि समेटिएका थिए।

अभिभावकहरूले तालिमबाट आफ्ना बालबालिकाको भावना बुझ्न सक्ने क्षमताको विकासले ठूलो आत्मसन्तुष्टि प्राप्त भएको बताए। उनीहरूले अब आफ्ना नानीबाबुसँग गहिरो संवाद गर्न सक्ने अनुभूति व्यक्त गरे।

यसअघि वैशाख महिनामा पनि काठमाडौँ महानगरपालिकाले बहिरा अपाङ्गता भएका १० जनालाई बारिस्ता, बेकरी निर्माण र हस्पिटालिटी तालिम उपलब्ध गराएको थियो। यस प्रकारका कार्यक्रमले बहिरा समुदायको जीवनस्तर सुधार, आत्मनिर्भरता र समावेशी समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया