काठमाडौं। विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक भिसा (Visa) ले नेपालका अग्रणी भुक्तानी नेटवर्कमध्ये एक फोनपे (Fonepay) सँग सहकार्य गर्दै 'स्क्यान टु पे' सुविधा सुरू गर्ने भएको छ।
अब नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूले फोनपे QR प्रणालीमार्फत भिसा कार्ड प्रयोग गरी सहज रूपमा भुक्तानी गर्न सक्नेछन्। यसले नेपालमा सीमापार डिजिटल भुक्तानीलाई अझ सुरक्षित, सरल र सुविधाजनक बनाउने विश्वास लिइएको छ।
नयाँ सहकार्यपछि नेपालभर रहेका १५ लाखभन्दा बढी व्यवसायमा भिसा कार्डबाट फोनपे QR स्क्यान गरी भुक्तानी गर्न सकिनेछ। अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेर सजिलै नेपालमा कारोबार गर्न सक्नेछन्।
भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, नेपालका उपभोक्ता र पर्यटकहरूलाई डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँगको साझेदारी महत्त्वपूर्ण छ। यो सहकार्यले नेपालमा थप सरल, सुरक्षित र नवीन भुक्तानी सेवा विस्तार गर्नेछ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यो साझेदारी नेपालमा सीमापार भुक्तानी योजनाको विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए। "यसले विश्वभरका भिसा कार्डधारकहरूलाई सुरक्षित डिजिटल कारोबारको अनुभव प्रदान गर्नेछ। भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको QR प्रणालीले डिजिटल भुक्तानी प्रविधिलाई अझ प्रभावकारी बनाउनेछ," उनले भने।
QR प्रणालीमार्फत भुक्तानी गर्दा साना व्यवसायीहरूलाई कार्ड मेशिनको आवश्यकता नपर्ने तथा ठूला खुद्रा पसलहरूले छिटो र सुरक्षित भुक्तानी सेवा प्रदान गर्न सक्नेछन्। साथै, डिजिटल भुक्तानी अपनाउँदा व्यवसायीहरूलाई धोखाधडी जोखिमबाट जोगिने सुविधा पनि मिल्नेछ।
भिसाले नेपालमा डिजिटल भुक्तानीको प्रयोग र स्वीकार्यता बढाउन बैंक तथा साझेदारहरूसँग निरन्तर काम गरिरहेको जनाएको छ। फोनपेमार्फत भिसा कार्ड प्रयोग गर्ने सुविधा नेपाललाई डिजिटल बनाउने भिसाको प्रतिबद्धताको अर्को महत्वपूर्ण प्रयास भएको भिसाले जनाएको छ।
नयाँ प्रविधिले नेपालमा डिजिटल भुक्तानीको भविष्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar