काठमाडौं, मंसिर १७ – नेपाल टेलिकमले विगत केही दिनदेखि आपूर्तिकर्ताको ढिलाइका कारण बजारमा रिचार्ज कार्डको अभाव देखिएकोमा हाल समस्या समाधान भएको जानकारी गराएको छ। अब पूर्ववत रूपमा रिचार्ज कार्ड बजारमा सहज रूपमा उपलब्ध भएको टेलिकमले जनाएको छ।
कम्पनीले यसअवधिमा ग्राहकले भोग्नु परेको असुविधाप्रति क्षमायाचना गर्दै, समस्या समाधान भइसकेको बताएको छ। टेलिकमका अनुसार रिचार्ज कार्ड उपलब्ध नभएको अवस्थामा ग्राहकले Mobile Point of Sale (MPOS), Namaste Pay, eSewa, Khalti, र IMEPay जस्ता डिजिटल वालेट प्रयोग गरी सहज रूपमा मोबाइल रिचार्ज गरिरहेका थिए। यसले गर्दा कम्पनीको व्यापार र राजस्वमा कुनै पनि नकारात्मक प्रभाव परेको छैन।
नेपाल टेलिकमले केही सञ्चारमाध्यममा रिचार्ज कार्डको अभावले व्यापार घाटा भएको भन्ने भ्रामक समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। डिजिटल माध्यमको प्रयोगले ग्राहकलाई कुनै बाधा नपुगेको र कम्पनीको राजस्वमा असर नपरेको टेलिकमले दोहोर्याएको छ।
ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै नेपाल टेलिकमले डिजिटल माध्यमबाट रिचार्जलाई अझ प्रोत्साहन गर्दै नयाँ सेवाहरू उपलब्ध गराउने योजना पनि अघि बढाएको छ।