पार्टी विघटनको यात्रा रोकियो माओवादीको निष्कर्ष

पुस २८,  काठमाडौं । माओवादी केन्द्रले भदौ १६ देखि मंसिर १६ सम्म तीन महिना जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले विघटनको यात्रालाई रोकेर पार्टी बनाउने आधार दिएको निष्कर्ष निकालेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । उनीहरुले अभियानका क्रममा वडा तथा टोलसम्म समिति बनेको र पार्टी गतिशील भएको ब्रिफिङ गरेका छन् ।

नेताहरुका अनुसार पछिल्लो समय माओवादीमा संगठित भन्दा पनि समर्थक र शुभेच्छुकलाई पनि सदस्य बनाउने, कतिपयको हकमा त अरुले नै शुल्क तिरेर सदस्य बनाइदिने प्रवृत्ति देखिएको थियो । तर यो पटक अभियानका क्रममा संगठित र साधारण सदस्य अलग गरिएको भन्दै एक नेताले भने, ‘लेबी तिरेर कमिटीमा बस्ने संगठित सदस्यहरु ५०÷६० प्रतिशत नवीकरण भएको छ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानले पार्टी विघटनतर्फको यात्रा रोकिएको विश्लेषण गरे । ‘यो अभियानले विघटनको यात्रालाई रोकेर पार्टी बनाउने आधार दिएको छ’, प्रचण्डले बैठकमा भने, ‘कार्यकर्ता पंक्तिमा रहेको निराशा थोरै भए पनि कम भएको छ । पार्टी जीवित छ भन्ने आएको छ ।’

बैठकपछि उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि अभियान विगतको भन्दा प्रभावकारी भएको र यसले पार्टीमा गतिशीलता ल्याएको निष्कर्षमा पुगेको सुनाए ।

अभियानले पार्टी निर्माणका लागि विश्वासको वातावरण बनाउने आधार दिएको भन्दै उनले भने, ‘यो पार्टी संरक्षणका लागि कोशेढुंगा बन्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

विधान सम्मेलन गरेर पार्टी कमिटीहरुलाई छरितो बनाउने र नेतृत्व छनोट विधिलाई लोकतान्त्रिक बनाउने हो भने पार्टी बनाउन सकिने नेताहरुको निष्कर्ष छ ।

माओवादी बैठकले आगामी फागुन १–३ सम्म विधान अधिवेशन गर्ने निर्णय समेत गरेको छ । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा रहेको पदाधिकारीहरु सम्मिलित मस्यौदा समितिले बनाएको विधानको मस्यौदा सुझावका लागि तल्लो कमिटीमा पठाइनेछ ।

मस्यौदा समितिका एक सदस्यका अनुसार कमिटीहरुको आकार सानो बनाउनुका साथै प्रदेश, जिल्ला, पालिका र वडाका कमिटीलाई अधिकार सम्पन्न बनाइएको छ । विभागहरुको संख्या घटाइएको छ ।

तल्लो कमिटीहरुबाट आएको सुझावका आधारमा २६ माघमा बस्ने स्थायी कमिटी बैठकमा विधानमाथि थप छलफल हुनेछ र, विधान अधिवेशनमा पेश हुनेछ ।

फागुनको विधान अधिवेशनमा १३०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । शनिबारकै बैठकले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको मापदण्ड बनाएको छ ।

माओवादीको स्थायी कमिटीको बैठकमा अरु दलहरुसँगको एकताबारे पनि छलफल भएको थियो । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग भएको समझदारी अनुसार प्रचण्डकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय बैठकले गरेको छ । तर नेपाल समाजवादी पार्टी मात्र होइन, अरु दलहरुसँग पनि एकता अगाडि बढाउनुपर्ने माओवादीको जोड छ ।

प्रतिक्रिया