काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ र पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित छ। हाल देशभर सामान्य बदली देखिएको छ। कोशीको तराई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन विभागले अनुरोध गरेको छ।
आगामी २४ घण्टाको मौसम पूर्वानुमान
आज दिउँसो र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षा हुने र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मध्यम वर्षाको जोखिम रहेको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यम वर्षाको सम्भावना छ, तर भारी वर्षाको जोखिम कम देखिन्छ। मधेश प्रदेशमा आंशिक बदलीसहित थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ।