काठमाडौँ। चालु आर्थिक वर्षको २ महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ।
चालु आ.व.को भदौ मसान्तसम्ममा यस नाका हुँदै रू ४२ करोड ४० लाख २ हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आ.व. २०८०/८१ को सोही अवधिमा रू ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने ३ सय ६ वटा जिप, कार र भ्यान आयात भएको थियो।
आ.व. २०८०/८१ को भदौ मसान्तको तुलनामा चालु आ.व.को सोही अवधिमा चार पाङ्ग्रे सवारी सङ्ख्याका आधारमा २४.८४ प्रतिशतले आयात घटेको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आ.व.को २ महिना अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको जानकारी दिएको हो।
“गत आ.व.को तुलनामा चालु आ.व.को दुई महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र इलेक्ट्रिक सवारीसाधन दुवैको आयात घटेको कार्यालयले जनाएको छ। इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज भन्सार नाका भन्दा उत्तरी नाकाबाट धेरै भित्रिएको छ। यो नाकाहुँदै सवारीसाधनको समग्र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ।
चालु आ.व. २०८१/८२ को भदौ मसान्तसम्ममा रू ६ करोड १ लाख ७० हजार मूल्य पर्ने ५४ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका छन्। आ.व. २०८०/८१ को सोही अवधिमा रू १३ करोड २५ लाख ५५ हजार मूल्य पर्ने ५८ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका थिए। गत आ.व.को तुलनामा चालु आ.व.मा ६.९० प्रतिशतले आयात घटेको हो।
चालु आ.व.को भदौ मसान्तसम्ममा रू ६ करोड २ लाख २६ हजार मूल्यपर्ने २८ वटा ट्रक, मिनीट्रक आयात भएको छ। गत आ.व.को सोही अवधिमा रू १६ करोड ८० लाख ८१ हजार मूल्यपर्ने ६८ वटा ट्रक, मिनीट्रक आयात भएको थियो। गत आ.व.को तुलनामा चालु आ.व.को सोही अवधिमा ट्रक र मिनीट्रकको आयात ५८ दशमलव ८२ प्रतिशतले गिरावट आएको हो।
चालु आ.व.को २ महिनामा ८ करोड २ लाख ३२ हजार मूल्यपर्ने ३८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ। गत आ.व.को सोही अवधिमा रू ९ करोड ९३ लाख आठ हजार मूल्य पर्ने ८६ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको थियो। गत आ.व.को तुलनामा चालु आ.व.को सोही अवधिमा ५५.८१ प्रतिशतले आयात घटेको छ।
चालु आ.व.को भदौ मसान्तसम्ममा रू १७ करोड २४ लाख ४ हजार मूल्यपर्ने ७६ वटा मिनिबस र माइक्रोबस आयात भएको छ। गत आ.व.को सोही अवधिमा रू ७ करोड १९ लाख ९१ हजार मूल्य पर्ने ३४ वटा मिनीबस र माइक्रोबस आयात भएको थियो। चालु आ.व.को २ महिनामा गत आ.व.को तुलनामा मिनिबस र माइक्रोबसको आयात एक २३ दशमलव ५३ प्रतिशतले बढेको छ।
चालु आ.व.को सुरूवाती २ महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटे पनि दुईपाङ्ग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ। चालु आ.व.को भदौ मसान्तसम्ममा वीरगञ्ज भन्सार हुँदै रू २ अर्ब ७ करोड ८४ लाख २२ हजार मूल्यपर्ने रू १६ हजार ३ सय ८४ वटा मोटरसाइकल आयात भएको छ। गत आ.व.को सोही अवधिमा रू १ अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्यपर्ने ९ हजार २ सय ६४ वटा मोटरसाइकल आयात भएको थियो। गत आ.व.को सोही अवधिको तुलनामा चालु आ.व.मा मोटरसाइकलको आयात ७६.८६ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।