काठमाडौं | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार भेट गरी उद्योग व्यवसाय प्रवर्द्धनका लागि आग्रह गरेको छ।
२०८१ चैत ११ गते भएको भेटघाटमा अध्यक्ष चौधरीले नेपालमा उद्योग व्यवसाय सञ्चालनका लागि सरकारले अझ सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने धारणा राख्दै भारतीय मालवाहक साधनहरूको निर्वाध प्रवेशले नेपाली मालवाहक व्यवसाय प्रभावित भएको बताए।
अध्यक्ष चौधरीले नेपालमा उत्पादित सामग्रीलाई प्राथमिकता दिने वातावरण बनाउनुपर्ने भन्दै लुब्रिकेन्ट्स उद्योगका नाममा फिनिस्ड गुड्स नेपाल भित्र्याएर वितरण भइरहेको विषयमा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए। साथै, नेपालमा टायर उद्योग खोलिए पनि गुणस्तरको मापदण्ड नबन्दा समस्या भएको भन्दै बुट मोडेलमा विदेशी लगानी भित्र्याउन सकिने सुझाव दिए।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधन पैठारीकर्ताहरूलाई समस्या भइरहेको भन्दै एजेन्सी दर्ता सम्बन्धी ऐन तत्काल पारित गर्न आग्रह गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगहरूको अवस्था जानकारी गराउँदै गोरखकाली रबर उद्योगलाई स्थानान्तरण गरी पुनः सञ्चालन गर्न तथा उक्त स्थानलाई विशेष आर्थिक क्षेत्र (SEZ) को रूपमा विकास गर्न सकिने बताए।
छलफलको क्रममा मन्त्री भण्डारीले उद्योग व्यवसाय प्रवर्द्धनका विषयमा संसदमा जानकारीबिना प्रश्न उठ्ने गरेको गुनासो गर्दै नेपाल सरकारले खुला बजार अर्थनीति अवलम्बन गरिरहेको स्पष्ट पारे। उनले खुला बजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि मुनाफा लिन सकिने बताए।
मन्त्री भण्डारीले नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाइने बताउँदै एजेन्सी दर्ता ऐनको सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट जानकारी लिएर चाँडै पारित गर्ने प्रतिबद्धता जनाए।
उक्त बैठकमा वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, निजि सचिव सुमन धिताल, स्वकीय सचिव आनन्दप्रसाद भट्ट, नाडाका सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, तथा एसोसिएशन सचिव सुरेन्द्र प्रधानलगायतको उपस्थिति रहेको थियो।