काठमाडौँ। काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बिहीबार) दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ। प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हो।
नेपालले आजको खेल जितेमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ। उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो। श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो।
बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन्। भारत र भुटानले एक/एक खेल जितेका छन्।
शुक्रबार भारत र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ। प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ।