काठमाडौं । रेड बुलले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्डसहितको नेपालको अमरापुरीमा ग्रिनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ । फ्याक्ट्रीको आधाभन्दा बढी विद्युत्, वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन हुने गरि फ्याक्ट्री सञ्चालनमा ल्याएको हो ।
मंगलबार फ्याक्ट्रीको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन्। अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारका लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने छ । रेडबुलको नेपालमा स्थानीयरूपमा उत्पादन, ब्रान्डको यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको कम्पनीको भनाइ छ । प्रतिष्ठित ब्रान्ड रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौ देश हो । रेड बुल उत्पादन गर्ने थाइल्यान्ड, भियतनाम र चीनपछि नेपाल रहेको छ ।
योविध्या परिवारको स्वामित्वमा रहेको टीसीपी समूह थाइल्यान्डमा रहेको एक अग्रणी पेय पदार्थ कम्पनी हो । जुन विश्वको सबैभन्दा प्रतिष्ठित इनर्जी ड्रिङ ब्रान्ड 'रेड बुल'को उत्पादक हो । साथै 'हाउस अफ ग्रेट ब्रान्ड्स'को रूपमा पनि परिचित कम्पनीसँग विविध उत्कृष्ट प्रोडक्टहरूको पोर्टफोलियो रहेको छ । एसियाका १५ भन्दा बढी देशका बजारहरूमा प्रत्यक्षरूपमा सक्रिय रहेको यसले विश्वव्यापी रूपमा पाँचहजार भन्दा बढी मानिसहरूलाई रोजगार दिइरहेको छ । थाइल्यान्डमा कम्पनीले विभिन्न व्यवसायमा सफलता हासिल गरेको छ । टीसीपी समूह 'इनरजाइजिङ अ बेटर वर्ल्ड' भन्ने उद्देश्यका साथ विश्वका विभिन्न देशमा सञ्चालित छ । टीसीपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्याले भने, "टीसीपी समूहले खाद्य तथा पेय पदार्थ उद्योगलाई नयाँ नयाँ सिर्जनशील उत्पादन र सेवाहरूका साथ बदलिँदो जीवनशैली, स्वास्थ्य तथा समयअनुसारको आवश्यकता लाई मध्यनजर राख्दै रेडबुलले नयाँ नयाँ आविष्कारहरूद्वारा विश्वलाई सदैव इनर्जी प्रदान गरिरहने छ ।"