बाग्मतीले दियो आर्मीलाई १२८ रनको लक्ष्य, प्रतीक र सन्दीपको उत्कृष्ट ब्याटिङ

पोखरामा जारी केपी ओली कप टी–२० प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ । पोखरा क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनायो ।

उसका लागि प्रतीक श्रेष्ठले उत्कृष्ट पारी खेले । ३५ बलको सामना गरेका प्रतीकले ४ छक्का र ३ चौकासहित अविजित ५० रन बनाए । उनले अन्तिम ओभरको सुरुवाती तीन बलमा लगातार तीन छक्का हिर्काउँदै टिमलाई सम्माजनक स्कोरमा पुर्याउन सफल भए ।

यस्तै, कप्तान सन्दीप लामिछानेले २२ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए । ४४ रन बनाउँदा ६ विकेट गुमाएको बागमतीको पारीलाई सन्दीप र प्रतीकले उकासेका थिए । उनीहरूबीच ५२ रनको साझेदारी बन्यो ।

यस्तै, रित गौतमले १४, इशान पाण्डेले १२ र सोनु देवकोटाले अविजित ९ रन जोडे । आर्मीका लागि साहब आलमले चार, सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए । 

आज नै हुने दोस्रो सेमिफाइनलमा मधेश प्रदेशले नेपाल एपिएफ क्लबको सामना गर्नेछ । यी दुई टिमबीचको खेल दिउँसो १ बजेदेखि पोखरा क्रिकेट ग्राउन्डमै सुरु हुनेछ । मधेश समूह चरणमा पुलिस क्लब र सुदूरपश्चिमलाई नेट रनरेटमा पछि पार्दै सेमिफाइनलमा पुगेको हो ।  

यस्तै, एपिएफ समूह ‘बी’ विजेताको रूपमा सेमिफाइनल पुग्न सफल भयो । उसले समूह चरणमा गण्डकीविरुद्ध ४ विकेटको हार बेहोर्दा लुम्बिनी प्रदेशलाई ८४ रनले हराएको थियो । 

प्रतियोगिातको फाइनल खेल शुक्रबार हुनेछ । उपाधि विजेता टिमले ५ लाख तथा उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

प्रतिक्रिया