नेपाली कांग्रेस गोरखाको ‘समुदायमा कांग्रेस’ अभियान माघ १३ गतेदेखि सुरु

माघ १३ ,गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयानुसार गाेरखामा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो । माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेस गोरखाका सभापती नन्द प्रसाद न्यौपानेले जानकारी दिए ।

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधिको उपस्थितिमा जिल्ला कार्यसमितिको विस्तारित बैठक बसी ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तयार गरिने न्यौपानेले बताए । अभियानलाई सार्थकरूपमा सफल पार्न जिल्लास्थित पालिकाको प्रत्येक वडामा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्यासी तथा जिल्लास्तरका वर्तमान एवं पूर्व नेतृत्वलाई वडा प्रतिनिधिका रूपमा खटाइने उनले जानकारी दिए ।

यस अभियान अन्तर्गत गोरखाका ११ पालिकाका सवै वडामा खुला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव सङ्कलन गरिने छ । अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत जनसरोकारका कामकारबाहीको अवलोकन गरिनेछ । यस अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्ययोजनासमेत तय गरिने छ ।

प्रतिक्रिया