बझाङ । बझाङको सुदूर हिमाली क्षेत्र साईपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले औपचारिक रूपमा उद्घाटन गरेको यो शाखा बैंकको १२९औं शाखा कार्यालय हो।
साईपाल गाउँपालिका–१, धलौनमा सञ्चालनमा आएको शाखाको उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेष्ट बैंक संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर के.सी., स्थानीय वडाध्यक्षहरू, प्रदेश प्रमुख उज्वल पोख्रेल, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू तथा स्थानीय बासिन्दाको उत्साहजनक उपस्थिति रहेको थियो।
वित्तीय सेवाको पहुँचबाट टाढा रहेको दुर्गम क्षेत्रमा बैंकको सेवा विस्तार गर्नु चुनौतीपूर्ण कार्य भए पनि सफलतापूर्वक शाखा सञ्चालन गर्न पाएकोमा बैंकले खुशी व्यक्त गरेको छ। मोटरबाटोको समेत पहुँच नभएको यो क्षेत्रमा बैंक स्थापना गर्न ७–८ घण्टाको पैदल यात्रा गर्नुपर्ने चुनौती रहँदै आएको थियो।
बैंकले सबै ७५३ स्थानीय तहमा क वर्गको वाणिज्य बैंकको सेवा पु¥याउने सरकारको अभियानलाई पूर्णता दिन आफूले महत्वपूर्ण योगदान दिएको बताएको छ। बैंकको उपस्थितिले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउने, व्यवसाय प्रवर्द्धन गर्ने र वित्तीय पहुँच अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
देशकै अग्रणी बैंकका रूपमा एभरेष्ट बैंकले नयाँ शाखा स्थापनासँगै सुदूरपश्चिम प्रदेशको ग्रामीण क्षेत्रमा वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।