जुम्ला, मंसिर १७ – नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा 2G/4G मोबाइल सेवा विस्तार गरेको छ। पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी मंसिर १६ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो।
यस नयाँ सेवाको सुरूवातसँगै पातारासी गाउँपालिकाका वडा नं. १, २, र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, र छुमचौरगाउँका वासिन्दाहरू पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन्।
नेपाल टेलिकमले विकट क्षेत्रका बासिन्दाहरूलाई प्राथमिकतामा राख्दै Voice तथा Data सेवा विस्तार गरेको हो। कम्पनीका अनुसार यस सेवाको विस्तारले स्थानीयवासी, पर्यटक, र पर्यटन व्यवसायसँगै अन्य व्यवसायमा समेत आधुनिक दूरसञ्चार सेवाको फाइदा पुर्याउने विश्वास लिइएको छ।
दूरदराजका क्षेत्रहरूमा आधुनिक सेवाको पहुँच पुर्याउन नेपाल टेलिकमको यो प्रयासले ग्रामीण भेगका जनतालाई डिजिटल युगमा सहभागी गराउने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।