काठमाडौँ। मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ।
रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका एक सय ८६ परिवार र वडा नं ५ महादेवस्थानका करिब डेढ सय घरपरिवारलाई ती सामग्री हस्तान्तरण गरिएको हो।
हालैको बाढीपहिरोबाट प्रभावित परिवारलाई रू ३० लाख बराबरको खाद्यान्न, लत्ताकपडा, कम्बल, मोबाइल चार्जरसहितको सोलार बत्ती सामग्री हस्तान्तरण गरिएको मानवसेवा आश्रले जानकारी दिएको छ।
विपद्बाट देश नै दुःखमा परेको बेला सरकारलाई गाली गरेर बस्नु र नकारात्मकतालाई प्रशय दिनु भन्दा पनि आ–आफ्नो ठाउँबाट सकेको योगदान गर्नु बुद्धिमानी हुने भएकाले यस कठिन परिस्थितिलाई पार लगाउन सबै एकजुट भइदिन पनि आश्रमले आग्रह गरेको छ। सरकारले नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराएका कारण पीडितपरिवारलाई प्रत्यक्ष सहयोग गर्न सकिएको जनाइएको छ।
फाउण्डेशनको अध्यक्ष एवं समाजसेवी आनी छोइङ डोल्माले विपद्बाट आपतमा परेका मानिसलाई सहयोग गर्नु हरेक नागरिकको कर्तव्यअनुसार नै केही राहत गरिएको उल्लेख गर्दै यस्तो बेला अर्काले टिप्प्णी गर्नुभन्दा आफूले सकेको सहयोग गर्नु नै धर्म हुने बताइन्। विपद्को घडीमा दुःखमा रहेका आफन्तलाई आफ्नोपनको अनुभूति गराउन पाउँदा हर्ष लागेको बताउँदै उनले प्रभावित क्षेत्रमा दिगो व्यवस्थापनका लागि ठोस् कदम चाल्न सरकार र सम्बन्धित निकायहरूसमक्ष अनुरोध गरिन्।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोबाट घरबार बिहीन बन्न पुगेका र प्रत्यक्ष प्रभावित जनतालाई सहयोग गरेकोमा मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै पालिकामा जतिसक्दो छिटो बत्ती, खानेपानी, सडकजस्ता पूर्वाधार पुर्याउन प्रयास भइरहेको बताए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar