काठमाडौं । नेपालका किशोरकिशोरीहरूका लागि उत्कृष्ट मञ्चको रूपमा स्थापित ग्लोकल टीन हिरो नेपाल २०२५ को ११औं संस्करणका लागि आवेदन खुला गरिएको छ। गोल्छा ग्रुपको शीर्षक प्रायोजनमा सञ्चालन हुने यो कार्यक्रम ग्लोकल प्रा.लि. को प्रमुख पहल हो, जसले युवाहरूको सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक योगदानलाई सम्मान गर्नका लागि आयोजना हुँदै आएको छ।
ग्लोकल टीन हिरो केवल अवार्ड समारोह नभई नेपालको भविष्य बोकेका प्रतिभावान युवाहरूलाई नयाँ प्रेरणा, सशक्तिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने अभियान हो। २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको यो अभियान २०१६ देखि देशभर फैलिएको छ भने २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि विस्तार भइसकेको छ।
आवेदन प्रक्रिया आजबाट सुरु भई आगामी जुलाई ३०, २०२५ सम्म चल्नेछ। देशभरका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। साथै इच्छुक व्यक्तिले आफूले चिनेका प्रतिभावान किशोरकिशोरीहरूको पनि मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ। आवेदन मूल्यांकनपछि उत्कृष्ट ६ फाइनलिस्टहरू चयन गरिनेछन्, जसले अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन्।
फाइनल मूल्यांकन को जिम्मा प्रतिष्ठित निर्णायक मण्डललाई दिइएको छ, जसमा कोका–कोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, वैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य, र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर छन्।
यस वर्ष गोल्छा ग्रुप, युरोपेली संघ, भारतीय दूतावास काठमाडौं, एम्बार्क कलेज, होन्डा, कोका–कोला, डब्लुडब्लुएफ, पञ्चकन्या, केएफसी, टोयोटा, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, नेपाल पर्यटन बोर्ड, द सोल्टी काठमाडौं, वल्र्डलिंक, हिमालय टिभी एचडी, यती एयरलाइन्स, प्रिज्मा एडभर्टाइजिङ, एनएनक्यू, पिज्जा हट र बेगानी ग्रुप लगायतका संस्थाहरू साझेदार रहेका छन्।
ग्लोकल टीन हिरो नेपाल २०२५ ले नेपाली युवाहरूलाई विश्व मञ्चमा स्थापित गर्न र देशको उज्ज्वल भविष्य निर्माणमा टेवा पु-याउने लक्ष्य लिएको आयोजकले जनाएको छ। इच्छुक किशोरकिशोरीहरूले आफ्नो सामुदायिक योगदान, नवप्रवर्तन र नेतृत्व क्षमता प्रस्तुत गर्दै आवेदन दिन सक्नेछन्।