नारायणगढ–बुटवल सडक विस्तार योजनाको म्याद साउन ८ मा सकिंदै

नारायणगढ–बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ। विसं २०७५ माघमा सम्झौता भएर सुरु भएको यो योजनाको म्याद यसबीचमा दुईपटक थपिएको थियो। हाल दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा हुँदा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम मात्र सम्पन्न भएको छ। योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार, यो खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटरको दूरी पर्दछ।

चार लेनको यो सडक दुईतर्फी गरेर एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर कालोपत्र सकिएको छ। "यस खण्डमा यात्रा गर्दा अहिले एकतर्फी २७ किलोमिटर कालोपत्र सडकबाट यात्रा गर्न सकिन्छ," खनालले भने। कालोपत्र गर्नका लागि ६ दशमलव ६ किलोमिटर सडकमा बेस तयार गरिएको छ।

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालको म्याद अवधिमा नयाँ काम नगरेपनि बेस तयार भएको खण्डमा कालोपत्र गर्ने योजना बनाएको छ। "यसले यात्रुलाई छ–सात किलोमिटर थप यात्रामा सहज बनाउनेछ," योजना प्रमुख आशिष थापा मगरले बताए।

हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सनको प्रतिबद्धता अनुसार भएको छैन। "म्याद थपपछि जति गर्छु भनेको थियो, त्यति भएन। स्रोत परिचालित पनि भएन। उसको आन्तरिक कारण र मौसमले पनि कामलाई प्रभावित गरेको छ," योजना प्रमुख मगरले भने।

म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको छ। "नयाँ ठेकेदार ल्याउँदा पनि समय लाग्ने हुन्छ। हालकै निर्माण कम्पनीबाट काम सकाउनु राम्रो हुनसक्छ। मुख्य कुरा अब थप प्रगति कसरी छिटो हासिल गर्ने भन्ने हो," मगरले थपे।

यस खण्डमा पर्ने ठूला १२ वटा पुलमध्ये नौवटामा स्ल्याब राख्नेसम्मको काम सकिएको र तीन वटामा काम सुरु गरिएको छ। साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा सबैको काम सकिएको छ।

नारायणगढ–बुटवल खण्डको ११३ किलोमिटर सडक अन्तर्गत पूर्वी खण्डमा ६५ किलोमिटर क्षेत्र छ। यो क्षेत्रमा बजारमा सर्भिस लेनसहित, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण भइरहेको छ। करिब १७ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको यो योजना लामो समयसम्म सम्पन्न नहुँदा यात्रु र चालकले सास्ती खेप्दै आएका छन्। वर्षा सुरु भएसँगै राजमार्ग हिलाम्य भएको छ।

चोरमारा, अरुणखोला, दुम्किबास जङ्गल क्षेत्रमा रातो माटोको कारण सडक चिप्लो हुँदा पटक–पटक सडक अवरुद्ध भएको छ। अन्य स्थानमा पनि सडक हिलो हुँदा यात्रा कष्टपूर्ण भएको छ। दाउन्ने क्षेत्रभन्दा अहिले चोरमार, अरुणखोला, दुम्किबासको जङ्गल क्षेत्रमा सडक चिप्लो भएर अवरुद्ध हुने जोखिम छ।

यातायात अवरुद्ध हुने जोखिम रहेको ठाउँमा निर्माण कम्पनीलाई ग्राभेल थप्न भनिएको छ।

प्रतिक्रिया