काठमाडौँ। महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरूलाई एक विशेष कार्यक्रम सहित सम्मान गरिएको छ।
बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्षसम्म निरन्तर रूपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्त्वपूर्ण सेवा तथा योगदान पु-याए बापत ३६ जना कर्मचारीहरूलाई काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो।
विभिन्न शाखा कार्यालयहरू तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरूलाई बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन्।
उक्त कार्यक्रममा सञ्चालक समिति सदस्यहरू, बैंकका उच्च पदस्थ अधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, काठमाडौँ उपत्यकाका शाखा प्रबन्धकहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। सम्मानित कर्मचारीहरूको ज्ञान, सिप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
साथै, उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरूवात समेत गरिएको छ। टोस्टमास्टर इन्टरनेशनलद्वारा मान्यता प्राप्त यो क्लब मार्फत बैकका कर्मचारीहरूमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा सञ्चार कौशल अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्यसहित गठन गरिएको हो।
विकास बैंकहरूमा टोस्टमास्टर क्लबको औपचारिक सुरूवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ।
जेठ महिनाभर बैंकले ३१ औँ वार्षिकोत्सव मनाउन तय गरेको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरू समेत सफलतापूर्वक सम्पन्न भएका छन्। यस अवसरमा आगामी दिनहरूमा बैंकले आफ्ना ग्राहकहरूलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।