काठमाडौं । नेपाली सेफ सोसाइटी (NCS) र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (INCS) को संयुक्त आयोजनामा नेपाली परम्परागत खानाको प्रवर्द्धन गर्न ‘अन्तर-कलेज कुकिंग प्रतियोगिता २०८२’ तथा ‘नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला २०८२’ आयोजना गरिने भएको छ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव गिरिराज भट्टले नेपाली खानाको मौलिकता, प्रवर्द्धन र व्यावसायिक सम्भावनालाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले यी कार्यक्रमहरू आयोजना गर्न लागिएको जानकारी दिए।
आगामी ४ वैशाख २०८२ (अप्रिल १७, २०२५) मा एकेडेमी अफ कलिनरी आर्ट्स, लगनखेलमा आयोजना हुने प्रतियोगितामा विभिन्न कलेजका पाककलाका विद्यार्थीहरूले भाग लिनेछन्। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली परम्परागत खानालाई नवीन तरिकाले प्रस्तुत गर्ने अवसर पाउनेछन्।
प्रतियोगितामा विजेता हुने टोलीलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने टोलीलाई रु १ लाख, द्वितीय हुने टोलीलाई रु ७५ हजार र तृतीय टोलीलाई रु ५० हजार पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
नेपाली खानाको मौलिकता, विविधता र अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान स्थापित गर्ने लक्ष्यसहित आगामी ६ वैशाख २०८२ (अप्रिल १९, २०२५) मा भृकुटीमण्डप, काठमाडौंमा मेला आयोजना गरिनेछ।
कार्यक्रममा युरोप, दक्षिण अमेरिका लगायत ३६ राष्ट्रबाट नेपाली सेफहरूको सहभागिता रहने बताइएको छ। मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
नेपाली परम्परागत खानाका विभिन्न परिकारहरूको प्रदर्शनी
स्वदेश तथा विदेशबाट नेपाली सेफहरूको सहभागिता
नेपाली खानाको व्यापारिक अवसरहरूको प्रवर्द्धन
सांस्कृतिक कार्यक्रम, झाँकी तथा अवार्ड वितरण
कार्यक्रम अन्तर्गत सीमित संख्यामा स्टल बुकिङ खुला गरिएको छ। आयोजकले नेपाली रैथाने खानालाई विशेष प्राथमिकता दिइने जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको पहिलो अधिवेशन पनि सम्पन्न गरिने
कार्यक्रमकै अवसरमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (INCS) को प्रथम अधिवेशन पनि आयोजना गरिनेछ।
महासचिव भट्टले नेपाली खानालाई विश्वभर चिनाउने अभियानमा सञ्चारमाध्यम, व्यवसायी, सेफ समुदाय र आम जनताको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै कार्यक्रमलाई सफल बनाउन सबै पक्षलाई सहकार्यका लागि आग्रह गरे।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar