बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

बागलुङ (रासस), २७ साउनः शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लाग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाउनुभएको छ । उहाँले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ ।

सानो घरमा चार कोठाबाट व्यवसाय थाल्नुभएका उहाँले व्यवसाय बढाउनुभएको छ । उहाँको होटलमा २४ कोठा छन् भने लगानी बढेर रु दुई करोड पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधासम्पन्न होटल सञ्चालन गर्न थालेका छन् । 

बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् ।

जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटलको आवश्यकता परेको उद्यमी कुँवर बताउनुहुन्छ । उहाँले जिल्लामा तारेहोटल आवश्यक भएको बताउनुभयो । विसं २०६५ देखि बागलुङमा होटल व्यवसाय गर्दै आउनुभएका अर्जुन चोखालले होटल व्यवसायमा रु चार करोड लगानी गरिसक्नुभएको छ । 

कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयजस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् ।  

प्रतिक्रिया