काठमाडौँ। तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको भीड लाग्न थालेको छ।
वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो।
व्यायामशालामा दैनिक सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ। स्वस्थ जीवनशैलीका लागि व्यायाम अतिआवश्यक रहेको र वडाले निर्माण गरेको खुला व्यायामशालाले सर्वसाधारणको ध्यानाकर्षण गर्न सफल भएको व्यास नगरपालिकाले जनाएको छ।
शारीरिक स्फूर्ति र शरीरका लागि आवश्यक व्यायामका लागि बनाइएको खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने नगरपालिकाले जनाएको छ। नगरका अनुसार यहाँ खुला व्यायामशालाको आवश्यकता रहेकाले कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो। खुला व्यायामशालामा बालबालिका, युवा र वृद्धवृद्धा समेत व्यायाम गर्न आउने गरेका छन्।
जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आकर्षण बढ्ने विश्वास गरिएको छ। रू १३ लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको हो। यहाँ विभिन्न १६ प्रकारका व्यायाम सामग्री जडान गरिएका छन्। व्यायामशाला क्षेत्रलाई सुरक्षित बनाउन तारबारसहित सिसी क्यामेरा जडान गरिएको छ। व्यायामशालाको नजिकै प्रसिद्ध व्यास गुफा क्षेत्र रहेकाले धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar